काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्वतन्त्र उम्मेदवारहरूले माओवादीका जस्तै कुरा र व्यवहार गरेका कारण निर्वाचनमा जितेको दावी गरेका छन्।
काठमाडौं र धनगढीका मेयरलाई स्वतन्त्र भन्न सकिने बताउँदै उनले यस्तो बताएका हुन्।
नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘माओवादीले गर्ने व्यवहार जस्तो गरेका स्वतन्त्रले जितेका छन्। हामीले जे भन्थ्यौं, धारो–पानी ल्याउने, शोषण र विभेद हटाउने तथा जनताका समस्या सबै हल गर्ने। उनीहरूले पनि त्यहि भनेर जितेका हुन्।’
माओवादी केन्द्रले राम्रोसँग काम नगरेको देखेपछि जनताले स्वतन्त्रलाई जिताएर देखाउँछौं भनेर सबक सिकाएको उनको भनाइ छ।
केही ठाउँमा स्वतन्त्रले जिते पनि अब देश स्वतन्त्रले चलाउने भ्रममा नपर्न उनले सचेत गराएका छन्। उनले भने, ‘बिग्रे पनि सप्रे पनि पार्टीले नै चलाउने हो। केही स्वतन्त्रले जितेका हुन्। ती सबै स्वतन्त्र होइनन्। एक त यहिँ पनि आइपुग्नुभो। उहाँ स्वतन्त्र हो तर होइन। धनगढीमा जितेको स्वतन्त्र हो तर होइन। दुईटा मान्छे अलि भिन्न ढंगले आए। माओवादीको जस्तो कुरा गरेका छन् क्या।’
पार्टी प्रणाली कमजोर भएर स्वतन्त्रको राज्य चल्ने भन्ने बिलकुल नहुने बताउँदै माओवादी केन्द्रलाई जनताले साथ नछाडेको तर सबक सिकाएको रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।
उनले थपे, ‘हामीलाई पहिलो पार्टी बनाउने रुचि राखेनन्। कुनै समय निकै ठूलो पार्टी बनाएका हुन्। तर, हामीले अपेक्षा अनुसार काम गर्न सकेनौं। सच्चियौं भनेर सन्देश दिएको अर्थमा बुझेको छु। हामीप्रति मोहभंग भइसकेको स्थित पनि छैन।’
तेस्रो शक्ति बनाएर जनताले राजनीतिको चाबी माओवादीको हातमा राखिदिएको जस्तो आफूले बुझेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।