काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको पहिचान हराउन खोजिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
देशभर पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
‘हाम्रो पहिचान हराउन खोज्दै छ है! यो कुरामा कसैले विमति गर्दैन। संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षताको युगमा जुन मुलुक प्रवेश गरेको छ। यो माओवादी आन्दोलनले नै हो। यतिधेरै परिवर्तनका संवाहकको व्यवहार त अहिले विचलनतिर जाने हो कि भन्ने खतरा बढेको छ,’ उनले भने, ‘पार्टीभित्र तीव्र गतिमा व्यक्तिवादी, व्यक्तिगत स्वार्थमा केन्द्रित हुने हुन् कि भनेर जनताले सोचिरहेका छन्। माओवादीप्रतिको माया, मोह र भरोसा टुटेको छैन तर जनताले अरु पार्टी जस्तै हुँदैछन् कि भनेर सोचिरहेका छन्।’
उनले एकपटक जनताले ठूलो पार्टी बनाएर पठाएको भन्दै जनताको अपेक्षा अनुसार काम गर्न नसकेका कारणले नै फेरि खुम्चिनु परेको स्वीकार गरे।
‘हामीलाई ठूलो पार्टी बनाएकै हुन्। तिमीहरू अझै सच्चिनु भनेर जनताले सन्देश दिएका हुन्। दिनप्रतिदिन विचलित हुँदै जाने हुन कि भन्ने जनतालाई छ,’ उनले भने, ‘एकातिर हेर्दा अझै पनि माओवादीलाई भरोसा गरेर देशको राजनीतिको चाबी माओवादीको हातमा राखिदिएका छन्।’
उनले विगतमा नेकपा माओवादीले जे भन्ने गरेको थियो त्यही व्यवहारमा कार्यान्वयन गर्दै आए पनि अहिले भने त्यो पहिचान मेटिँदै गएकोमा चिन्ता व्यक्त गरे।
‘हिजो त हामीसँग जनमुक्ति सेना, जनयुद्ध, जनसरकार सबै थियो। अहिले त ती सबै छैनन्,’ उनले भने, ‘अब भनेको तपाईंहरू सबै जनप्रतिनिधिहरु हो। तपाईंहरूमा नै माओवादीको अनुहार देखिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।