काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कसैलाई पनि भेदभाव नगरी पार्टीको मार्ग निर्देशनअनुसार स्थानीय तहमा जनताको हितमा काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
‘आपूर्ति व्यवस्थालाई ध्यानमा राखेर नेपालमै उत्पादन भएको वस्तुलाई नै प्रयोग गर्नेतर्फ ध्यान दिनुहोला,’ उनले भने, ‘हामीलाई मत दिने/नदिने हाम्रा जनता हुन्। भेदभावरहित हिसाबले हामीले काम गर्नुपर्छ। अरु पार्टीले के गर्छन् त्यो होइन, हामीले सबै जनताको हितमा काम गर्नुपर्छ।’
उनले देश र जनताको निम्ति काम गर्नका लागि पार्टीको मार्गनिर्देशन अनुसार हिँड्नुपर्ने बताए।
‘बजेटलाई कसरी परिचालन गर्ने, उत्पादन र रोजगारीसँग जोड्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने, ‘पार्टीलाई केन्द्रमा राखेर छलफल गरेर काम गर्ने प्रक्रिया अगाडि बढाउन सकिन्छ। आ–आफ्नो हिसाबले गर्ने होइन। पार्टी संयन्त्रसँग छलफल गरेर जनमुखी र प्रभावकारी काम गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।