काठमाडौं– सांसद हृदयेश त्रिपाठीले वर्तमान सरकारले ल्याएको बजेट मोटाएको नभएर सुन्निएको टिप्पणी गरेका छन्। सरकारले सुन्निएको बजेट ल्याएको र यो रोगको लक्षण भएको पनि उनको भनाइ छ।
बुधबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। ‘बजेटमा नेपाली किसानलाई मलको समस्या, समयमा बीउ र पानीको व्यवस्था गर्न सकेमात्र पनि अहिलेको समस्या केहि प्रतिशत समाधान हुन्छ। तर किसानलाई पेन्सन दिने विषय छ। यो एकदम हावादारी कुरा हो’, उनले भने।
उनले कृषि उपजका लागि बीउ, बीमाका कुरा गरेको भए पत्याउन सकिने तर पेन्सनको कुरा अपत्यारिलो भएको बताए। ‘सरकारले किसानलाई कृषि उपज, बीमाको कुरा गरेको भए पत्याउने कुरा हुन्थ्यो। तर, कहाँबाट ल्याएर किसानलाई सरकारले पेन्सन दिन्छ? पेन्सन पाउने आधार के हुन्छ?’
यसैगरी उनले कृषि माथिको लगानी र कृषकमाथिको लगानी नेपालको सबैभन्दा विडम्बनापूर्ण पक्ष रहेको उनको भनाइ छ। उनले भने, ‘अझै पनि नेपालमा ८२ प्रतिशत लगानी कृषिमा हुने र १८ प्रतिशत लगानीमात्र कृषकमाथि हुने गरेको छ।’
कृषि मन्त्रालयमा खरिद गरिने गाडी/घोडा र तामझाम जति छन्, त्यो कृषिमाथिको लगानीका रुपमा जाने उनको दावी छ। तर, किसानको अवस्था सुधारका लागि यस्तो रकम नजाने गरेको उनको भनाइ छ।
यस्तै राजस्व धेरै संकलन गर्ने लक्ष्य लिए पनि त्यसको स्रोत सुनिश्चितता नभएको त्रिपाठीले बताए। उनले भने, ‘सरकारले राजस्व उठाउने कुरा नै हचुवाको भरमा ल्याएको छ। हाम्रो देशमा राजस्व धेरै उठ्ने भनेकै आयातबाट हो। आयात घटाएर कसरी राजस्व उठ्छ?’, उनको प्रश्न छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।