काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बजेटका हरेक बुँदा नियतमाथि शंका गर्दै प्रश्न नसोध्न प्रमुख प्रतिपक्ष दलसँग आग्रह गरेका छन्। उनले त्यसको परिणामसम्म धैर्य गर्नुपर्ने बताएका छन्।
बस्नेतअघि आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले विभिन्न बुँदामा प्रश्न गरेका थिए।
पाण्डेलाई जवाफ दिँदै बस्नेतले भने, ‘हामी अत्यन्त विषम परिस्थितिमा छौं। त्यो तीनचार वर्ष सरकार र अर्थ मन्त्रालयको नेतृत्व गरेको दलले महशुस गर्नुपर्छ। एउटा अर्थमन्त्रीले देशको बजेट प्रस्तुत गर्दा नियत के हो? भनेर हरेक बुँदामा शंका गरेर प्रश्न गर्नु उपयुक्त होइन।’
उनले कतिपय समस्या विरासतमा प्राप्त भएको स्मरण गराउँदै एकै वर्षमा सबै समस्या समाधान गर्न नसकिने बताए। कतिपय तत्काल परिणाम आउने भन्दा पनि दीर्घकालका लागि रहेको उनको दाबी छ।
उनले थपे, ‘सुरुमा वृद्धभत्ता सय रुपैयाँ दिइयो। त्यसले समस्या समाधान त गर्दैनथ्यो तर सही कार्यक्रमको थालनी भयो। अहिले हामी त्यसैमा प्रतिस्पर्धा गरिरहेका छौं। यसपल्ट पनि त्यस्ता कार्यक्रम परेका छन्। भविष्यमा यस्तै परिणाम देखिनेछन्।’
उनले कुनै पनि कुराको श्रेय लिने दौड नभइ बजेट राष्ट्रिय हितका लागि रहेको बताए। नेपालको आर्थिक विकासको मोडल सामाजिक न्याय र आर्थिक विकास रहेको बताउँदै यसपल्ट सन्तुलित बजेट प्रस्तुत भएको दाबीसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।