काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद राम कार्कीले देशको विकास गर्नका लागि शिक्षामा जोड दिनुपर्ने बताए। उनले किसानलाई सहुलियतका साथै शिक्षामा गरिने लगानीले देशलाई अगाडि बढाउन सहज हुने बताए।
मंगलबार संघीय संसद्मा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेता कार्कीले भने, ‘कमसेकम शिक्षकलाई तालिम दिने व्यवस्था हुनुपर्यो। हामीले भारत वा अन्य मुलुकलाई आग्रह गर्यौं भने उनीहरूले मान्छन्। यो देशलाई माथि उकास्नका लागि आधुनिक शिक्षाबाट शिक्षकहरू दिक्षित हुनुपर्यो। शिक्षकलाई तालिम दिने व्यवस्था गरियोस् म यसका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’
उनले अब सरकारी कर्मचारी मात्र नभइ, शिक्षकलाई विदेश भ्रमण पठाउन अर्थमन्त्री जनार्दन शर्मासँग माग गरे। यस्तै, राजनीतिक दलले शिक्षकलाई पार्टीको काममा लगाउन बन्द गरेर शिक्षाको गुणस्तर सुधारमा लगाउनुपर्ने उनले धारणा राखेका छन्।
उनले अहिलेसम्म पार्टीको काममाबाहेक शिक्षकलाई अन्यत्र काममा नै नलगाइएको आरोप लगाए। ‘उनीहरूलाई शिक्षित बनाउनेतर्फ ध्यान दिउँ,’ उनले भने, ‘तब मात्र शिक्षामा छुट्याइएको बजेटको पूर्ण सदुपयोग हुन्छ र त्यसले प्रतिफल दिन्छ।’
शिक्षा र स्वास्थ्यमा छुट्याइएको बजेटलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने उनको भनाइ छ। अहिलेको बजेटमा ‘किसानसँग सरकार’ भन्ने नीति ल्याएको भन्दै त्यो उत्कृष्ट भएको नेता कार्कीले बताए।
‘किसानलाई बलियो र सचेत नबनाएसम्म, उसको सवलीकरण नभएसम्म नेपाल अगाडि बढ्न सक्दैन। अगाडिको तुलनामा अहिलेको बजेटले किसानलाई केही महत्व दिएको छ,’उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।