काठमाडौं– नेकपा एमालेका सांसद योगेश भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट घटाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको आलोचना गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले अर्थमन्त्रीलाई शिक्षा र स्वास्थ्यमा कमिसन नआउने भएर बजेट घटाएको भन्दै प्रश्न गरेका हुन्।
‘टिकटकमा भिडियो आएको छ, उहाँ प्रतिनिधिसभाको सदस्य हुँदा एउटा इन्टरभ्यु दिनुभएको रहेछ,’ उनले भने, ‘शिक्षा र स्वास्थ्यमा २० प्रतिशत बजेट हुनुपर्यो, त्यो भिडियोमा उहाँले किन बजेट बढाउँदैनन् भन्दा त्यहाँबाट कमिसन आउँदैन भन्नुभएको रहेछ। अहिलेको बजेटमा उहाँले शिक्षा र स्वास्थ्यमा बजेट २० प्रतिशत पनि पुर्याउनु भएन। अब अर्थमन्त्रीलाई सोध्न चाहन्छु– शिक्षा, स्वास्थ्य क्षेत्रबाट कमिसन नआएर बजेट नबढाउनुभएको हो?’
उनले यसअघिका वर्षभन्दा अहिलेको बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रको कटौती गरिएको बताए। सत्तापक्षका सांसदले पटक–पटक संसद् विघटनको कुरा उठाएको विषयमा पनि जवाफ फर्काएका छन्।
‘संसद् विघटनको कुरा आइरहेको छ। पटक–पटक माननीय ज्यूहरुबाट,’ उनले भने, ‘सर्वोच्च अदालतबाट एउटा आदेश आइसकेको छ। हामी त्यो आदेशबाट निर्देशित छौं।’
उनले ०५२ मा मनमोहन अधिकारीले संसद् विघटन गर्दा सर्वोच्चले त्यसलाई पुनःस्थापित गरेको र अधिकारीले नै शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेको चर्चा गरे।
‘अस्ती केपी ओलीले पनि देउवालाई नै सत्ता हस्तान्तरण गर्दिनुभयो। ०५८ सालमा शेरबहादुर देउवाले विघटन गर्दा कसरलाई सत्ता हस्तान्तरण गर्नुभयो। यो पटक सम्झीउँ तपाईंलाई, महाराजगन्जको प्रहरी प्रशिक्षण केन्द्रमा थुनेर तपाईंले शाही आयोगको डन्डा लगाएका बेलाका वकिल सुवास नेम्वाङ यहिँ हुनुहुन्छ भन्ने ख्याल गर्नुहोला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।