काठमाडौं– नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटलाई 'चुनावी घोषणापत्र' भनेर गरेको टिप्पणीप्रति गठबन्धन दल माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले जवाफ फर्काएका छन्।
‘पूर्व वक्ता माननीयले गठबन्धन सरकारको चुनावी घोषणापत्र भन्नुभयो,’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै पुनले भने, ‘गठबन्धनको घोषणापत्र हो भने– कर्मचारी, सेना, प्रहरी लगायत जो छन् सबै गठबन्धनका मानिस नै भए। ६८ वर्षकाले बृद्धभत्ता पाउने छन् ती सबै हाम्रै भए त? किसान सबै गठबन्धनका हुने भए त? कृषिमा गरिएको लगानी वृद्धि भएको छ, त्यसो भए ती सबै किसान गठबन्धनकै हुने भएन त?’
आलोचनालाई पनि सकारात्मक रुपमा गर्न सके राम्रो हुने भन्दै नेता पुनले अघिल्लो पटक संसद् विघटन भएको बेला फुलफेज आकारमै बजेट ल्याएको विषयलाई नर्बिसन समेत उनले स्मरण गराए।
अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटमा ४ दशमलव ८ प्रतिशतका हिसाबले सार्वजनिक ऋण घटाउने विषय उल्लेख रहेको भन्दै पुनले त्यो विषय सकारात्मक भएको बताए। अहिलेको गठबन्धन सरकार पछिसम्म जाने भन्दै अब आउने सरकारले पनि अहिले सार्वजनिक भएको बजेटबाट महत्वपूर्ण आयोजनाले सार्थकता पाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।