काठमाडौं- पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका सांसद विष्णु पौडेलले निर्वाचनमा मतदाता रिझाउने गरि बजेट ल्याएको टिप्पणी गरेपछि नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले त्यसको जवाफ दिएका छन्।
पौडेललाई जवाफ दिँदै रिजालले गतवर्ष संसद् विघटन गरेर निर्वाचन घोषणा गर्दा ल्याइएको बजेट र अहिलेको बजेट पढ्न सुझाव दिए।
‘पूर्ववक्ता मेरो मित्रले बजेट निर्वाचनमुखी छ भन्नुभयो। अघिल्लो वर्ष जेठ ८ गते प्रतिनिधि सभा विघटन भयो। जेठ १५ गते बजेट प्रस्तुत गर्नुभयो। प्रतिनिधिसभा नभएको बेला बजेट प्रस्तुत गर्नुभयो,’मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले भने,‘संसद छलेर, संसद विघटन गरेर निर्वाचनको घोषणा गरेर जसरी बजेट ल्याउनुभएको थियो। त्यो भन्दा त अहिलेको बजेट निकै राम्रो छ।’
उनले आफ्नो भूमिका बदलियो भन्ने बितिक्कै छलांग मार्ने टिप्पणी नगर्न प्रतिपक्षी दलका नेताहरुलाई सुझाव दिएका छन्।
‘यसबाट अर्थतन्त्रको सुधार पनि हुँदैन। केही हुँदैन। अर्थमन्त्रीले बजेट जसरी प्रस्तुत गर्नुभएको छ। धेरै ठूलो प्रतिरक्षा गर्नु छैन,’उनले भने,‘हिजो प्रतिनिधि सभाबाट भागेर बजेट ल्याइएको थियो। अहिले त प्रतिनिधि सभाबाट नै बजेट ल्याइएको छ।’
उनले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट समग्रमा राम्रो रहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।