काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहाली गरेलगत्तै आफ्नो चुनावी प्रतिबद्धताअनुसार महिला संरक्षणका लागि महिला सेल गठन गर्ने निर्णय गरेकी छन्।
हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा ‘महिला सेल’ गठन गर्ने निर्णय गरेकी हुन्।
सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समन्वय गरी अन्यायमा परेका र पीडित महिलाहरूका लागि आवश्यक कार्य गर्ने निर्णयमा उल्लेख छ।
निर्वाचनअघि जारी उनको प्रतिबद्धतापत्रमा महिला सेल गठनको विषय बुँदा नम्बर २२ मा उल्लेख छ। ‘सभ्य र शान्त समाज निर्माणका लागि महिला सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखिएको हो’, उनले भनिन्।
यस्तै उनले पदबहालीपछि मेलमिलापकर्तालाई आह्वान गर्न मेलमिलापको सूची अद्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा हस्ताक्षर पनि गरेकी छन्। प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी सानातिना विवादलाई वडा तहबाटै निरुपण गर्ने उद्देश्यले मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।