काठमाडौं– आईजीपी विवाद सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ। न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा पेसी रहेको मुद्दा लगाउमा पेसी चढेको थियो।
डीआईजीहरु इश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले २०७८ चैतमा निवेदन दर्ता गरेका थिए। उनीहरुको र आईजीपी बढुवामा नपरेका विश्वराज पोखरेलले दायर गरेको रिट सँगै राखिएको थियो।
पोखरेलले गत वैशाख १९ गते रिट दायर गरेका थिए। आफू पहिलो नम्बरमा भएकाले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने सरकारको निर्णय बदर हुनुपर्ने उनले जिकिर गरेका थिए। उनको रिटको पहिलो सुनुवाइमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सर्वोच्चले मंगलबारदेखि अन्तिम सुनुवाइ हुने तोकेको थियो।
तर, अदालतले तीन डीआईजीहरुको हकमा म्याद नै तामेली नभएको भन्दै मुद्दाको सुनुवाइ सारेको छ। अब अर्को सुनुवाइ नियमित पेसी चढ्दै हुनेछ। अर्को पेसी कहिले हुने भन्ने बेलुका मात्र थाहा हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।