काठमाडौं– बागमती प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि मंगलबार छलफल हुँदैछ।
सोमबार दिउँसो बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रममा माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनाउने, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने, एक वडा एक पशु कार्यालय खोल्ने विषय समेटिएको छ।
त्यस्तै, विद्युतीय सार्वजनिक सवारीसाधनको व्यवस्थापन गर्ने, स्मार्ट लाइसेन्सको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधनको विद्युतीय सेवाका माध्यमबाट भाडाको व्यवस्थापन गर्ने, सडक निर्माण तथा विस्तारको कामलाई निरन्तरता दिने र यातायात क्षेत्रको व्यवस्थापनका लागि ट्राफिकसँग समन्वय गर्ने, प्रदेशस्तरीय खेलकूदको आयोजना गरिने नीति तथा कार्यक्रममा छ ।
श्रम तथा रोजगारीको व्यवस्था, कृषिको विकास, कृषिको क्षतिपूर्तिलगायत मलखाद्यको व्यस्थापन, उद्योग कलकारखानाको विकास, संरक्षण र लगानीका विषयलाई कार्यक्रममा समेटिएको छ।
मंगलबार छलफल सकिएपछि भोलि बुधबार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ। त्यसपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने प्रदेश संसद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।