काठमाडाैं-कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १९ गते हुने भएको छ। निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन सम्पन्न भएको नगर निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए।
कार्यपालिका निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएका छन्। वैशाख ३० गतेको निर्वाचनमा कांग्रेस र नेकपा (माओवादी केन्द्र) का बीच गठबन्धन भएकाले आठ जना कार्यपालिका सदस्यमध्ये एक जनामा माओवादीको पनि उम्मेदवारी परेको छ।
नौवटा वडा रहेको नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन्। निर्वाचित नगरप्रमुख, उपप्रमुख, नौ वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी ४७ जना मतदाता रहेको नगर निर्वाचन कार्यालयले जनाएको छ।
कार्यपालिकाको महिला सदस्य निर्वाचित मध्येबाटै हुने व्यवस्था छ। दलित तथा अल्पसङ्ख्यक सदस्य भने नगरपालिकाको मतदाता नामावलीमा नाम रहेकामध्येबाट उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था रहेको निर्वाचन अधिकृत राउतले जानकारी दिए।
नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका उपेन्द्र कार्की, उपप्रमुखमा एमालेकी शान्ता थापा विजयी भएका छन्। वडा नं १, ३, ४ एमालेले जितेको छ। कांग्रेसले वडा नं २, ५, ७, ८ र ९ जितेको छ । वडा नं ६ मा भने नेकपा एकीकृत समाजवादीका प्रकाश फुयाँल विजयी भएका छन्।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा भने नगरप्रमुख, उपप्रमुखसहित बहुमत वडामा एमालेले जीत हासिल गरेको थियो । त्यसबेला निर्वाचित नगरप्रमुख कृष्णहरि थापा एमाले विभाजनपछि समाजवादीमा लाग्नुभएको थियो । यसपटक पनि निर्वाचन लड्नुभएका थापा तेस्रो हुनुभएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।