काठमाडौं– कोरोना भाइरसको महामारीका क्रममा ज्वरो नाप्ने यन्त्र (थर्मल गन)को कालोबजारी गर्दै गरेको अवस्थामा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको मुद्दाको पेसी फेरि स्थगित भएको छ।
साप्ताहिक पेसी सूचीअनुसार उक्त मुद्दामा सोमबार सुनुवाइ हुने तय थियो। तर, लामो बहस हुने र हेर्न नभ्याउने भएपछि अदालतले नै पेसी स्थगित भएको सूचना प्रकाशित गरेको हो।
अब अर्को दिन गोला प्रथाबाट पेसी तोकिने जिल्ला अदालत काठमाडौंले जनाएको छ। अग्रवालको मुद्दामा तोकिने अर्को पेसीको मितिबारे भने अदातले मंगलबार मात्रै सूचना दिने छ।
अग्रवाल उक्त मुद्दामा चलखेल गर्दै सफाइ पाउने लबिङ रहेका थिए। सरकारी वकिलको कार्यालयले पनि न्यायाधीशको इजलास हेरेर बहसमा सहभागी हुने वा पेसी स्थगितका लागि निवेदन दिने गरेको थियो।
सोमबार न्यायाधीश राजेन्द्र अधिकारीको इजलासमा पेसी पर्ने भएपछि सरकारी पक्षले बहसको तयारी गरेको थियो। तर, अदालतका तर्फबाटै पेसी स्थगित भएपछि सरकारी पक्षले अब अर्को पेसीमा बहस गर्ने भएको छ।
अग्रवालले चीनको गोन्जाउबाट २०७६ चैत २१ गते थर्मल गन ल्याएका थिए। अग्रवालको कम्पनीले चीनबाट सेटिङमा आफ्नो मात्रै सामान ल्याएको विषय त्यतिबेला सार्वजनिक भएको थियो। अग्रवालको कम्पनीले सेटिङमा आफ्नो मात्रै मेडिकल उपकरण तथा औषधि ल्याउँदै उच्च मूल्यमा बिक्री गर्ने गरेको विषय प्रहरी अनुसन्धानबाट खुलेको थियो।
अग्रवालले २१ चैत २०७६ मा नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा १२ सय थर्मल गन ल्याएका थिए। पक्राउ पर्दा भने उनको साथबाट प्रहरीले ६७ थान थर्मल गन मात्रै फेला पारेको थियो। प्रहरीले त्यसपछि अग्रवालको घर र अफिसमा समेत छापा मारेको थियो। तर, बाँकी थर्मल गन भने फेला नपरेको प्रहरीले जानकारी दिएको थियो।
अनुसन्धानका क्रममा उनले उक्त थर्मल गनहरू महंगो मूल्यमा बिक्री गरेको देखिएको अभियोगपत्रमा दाबी गरिएको छ।
अग्रवालको कम्पनीले उक्त गन चीनमा २० डलरमा खरिद गरेको थियो। उक्त कुरा उनले बयानमा स्वीकार गरेका छन्। उनले सामान खरिद गरको समयमा डलरको भाउ १ सय २१ रुपैयाँ थियो।
यसअघि २०७८ चैत १ गते उनले उक्त मुद्दामा सफाइ पाउने चलखेल गरेका थिए। उनले चाहे अनुसार विवादित न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासमा पेसी परेको थियो। तर, सरकारी पक्षले पेसी स्थगितको निवेदन दिएपछि उक्त इजलासले फैसला गर्न पाएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।