काठमाडौं– प्रदेश १ को एक मात्र महानगर विराटनगरको मेयरमा सत्ता गठबन्धनतर्फका कांग्रेस उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन्। नगरसभामा भने एमाले ठूलो दल बनेको छ।
अबको पाँच वर्ष मेयर कोइरालले विराटनगर महानगरमा आफ्नो योजनाअनुसारका कार्यक्रमहरू अगाडि बढाउन सक्छन्। यद्यपि, उनले अगाडि सारेका कार्यक्रम, निति, बजेटलगायतका अजेण्डा नगर कार्यपालिकाबाट अनुमोदन तथा नगरसभाबाट पारित हुनुपर्छ।
नगरसभामा महानगरका मेयर, उपमेयर, वडा अध्यक्ष तथा सबै सदस्यहरू रहन्छन्। नगरसभा स्थानीय सरकारको व्यवस्थापिका हो।
जम्मा १९ वडा रहेको विराटनगर महानगरको नगरसभा ९७ सदस्यीय बन्ने छ। नगरसभामा कांग्रेसका मेयरसहित ४० सदस्य रहने छन्।
कांग्रेसका उम्मेदवार वडा नं. ५, ६, ७, ९, १५ र १६ गरी ६ वटामा वडाध्यक्ष निर्वाचित भएका छन्। त्यस्तै खुला सदस्यतर्फ १८ जना, महिला सदस्यतर्फ सात जना र दलित महिला सदस्यतर्फ ८ जना निर्वाचित भएका छन्।
त्यस्तै, एमालेका उपमेयरसहित ४३ जना नगरसभामा रहने छन्। एमालेले जितेका वडाहरूमा वडा नं. १, २, ३, ४, ८, १०, ११, १४ र १९ छन्। १५ जना खुला सदस्य, १० जना महिला सदस्य र आठ जना दलित महिला सदस्य पनि निर्वाचित भएका छन्।
जसपाले वडा नं. १२ र १७ मा अध्यक्ष पद जितेको छ। त्यस्तै चार जना खुल्ला सदस्य, एक जना महिला सदस्य र तीन जना दलित महिला सदस्य पनि चुनिएका छन्।
त्यस्तै, राप्रपाका उम्मेदवार वडा नं. १३ को वडाध्यक्षमा निर्वाचित भएको छ। स्वतन्त्र उम्मेदवारले वडा नं. १८ को वडाध्यक्ष र एक–एक जना खुल्ला, महिला र दलित महिला सदस्य जितेका छन्।
नगरसभामा निर्वाचित सदस्यहरूका आधारमा एमाले ४३ सदस्यसहित ठूलो दल बनेको छ। तर कुल ९७ सदस्य रहेको नगरसभामा ४९ सदस्यसहित बहुमत भने पुग्दैन।
नगरसभाबाट गठित नगरकार्यपालिकामा भने प्रमुख, उपप्रमुख, सबै वडाका वडा अध्यक्ष, पाँच जना महिला सदस्य, तीन जना दलित वा अल्पसंख्यक समुदायका सदस्य रहने संवैधानिक व्यवस्था छ। दलित वा अल्पसंख्यक भने नगरसभा सदस्य वा महानगरभित्रको मतदाता भए हुन्छ।
यस्तै, नगर कार्यपालिकामा कांग्रेसका मेयरसहित सात जना, एमालेका उपमेयरसहित १० जना, जसपाका दुई जना, राप्रपा र स्वतन्त्र एक–एक जना निर्वाचित भइसकेका छन्। अब संविधानले व्यवस्था गरेका पाँच जना महिला सदस्य र तीन जना दलित वा अल्पसंख्यक सदस्य भने नगरसभाले निर्वाचित गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।