काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट भोट बढाउने कुरामा केन्द्रित रहेको टिप्पणी गरेका छन्। आर्थिक वर्ष २०७९/०८० माथि टिप्पणी गर्दै उनले आएका सुझाव सबै समेटेको तर चुनावी सरकार रहेको महशुस नगरेको बताएका छन्।
उनले भने, ‘बजेटमा के आयो भन्दा पनि के आएको छैन भन्ने हेर्नुपर्नेछ। सुझाव दिएजति सबै बजेटमा समेटिएको छ। चुनावपछि नयाँ बन्ने सरकारले कार्यान्वयन गर्नुपर्ने हेक्का राखेको छैन। कसरी भोट बढ्छ भन्ने मनशायबाट ल्याइएको छ।’
उनले बजेटलाई अनुशासनको सीमामा नराखिएकोसमेत बताएका छन्। ‘निर्वाचनका लागि बजेट छुट्याएपछि कस्तो बजेट हो ख्याल गरिएको छैन,’ उनले उदाहरण दिँदै थपे, ‘कृषिमा पेन्सन दिने कुरा छ। त्यो भने १० प्रतिशत कृषकबाट कटाउने र १० प्रतिशत सरकारले थप्ने हो। अहिले भएका ८ लाख कर्मचारीकै पेन्सन कार्यान्वयनमा समस्या भएर हटाउने बहस छ। देशमा ६१ प्रतिशत किसान छन्। साढे ३७ लाख परिवारलाई १० प्रतिशतका दरले सरकारले दिँदा व्ययभार कति हुन्छ?’
उनले कोष हटाउने भनेर कतिपय पुनःस्थापना गरिएको बताए। नीति तथा कार्यक्रम र बजेटबीच कुनै सन्तुलन नभएको उनको भनाइ छ। उनले व्यापार घाटा घटाउने नीति तथा कार्यक्रम भए पनि बजेटले त्यसलाई कसरी घटाउने भनेर उल्लेख नगरेको बताए।
उनले विद्युतीय चुल्होलाई प्रोत्साहन गर्ने र विद्युत खपत बढाउने नीति तथा कार्यक्रमको भने प्रशंसा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।