काठमाडौं– आज आइतबार जेठ १५ गते । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालबाट २ सय ४० वर्षे शाही राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।
सो घोषणाको अवसरमा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाउने गरिन्छ।
गणतान्त्रिक अभ्यासमा नेपालले दुई वटा राष्ट्रपति देखिसकेको छ। पहिलो संविधानसभाका ससस्यहरुले ०६५ साउन ६ मा पहिलो राष्ट्रपतिको रुपमा रामवरण यादवलाई निर्वाचित गरेको थियो।
त्यसपछि विद्यादेवी भण्डारी ०७२ कात्तिक ११ मा राष्ट्रपति चयन भएकी थिइन्। उनी दोस्रो कार्यकालका पनि राष्ट्रपति भएकी छिन्। ०७४ फागुन २९ मा राष्ट्रपतिको लागि भएको निर्वाचनमा उनी निर्वाचित भएकी थिइन्।
२०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ।
यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो।
२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो।
संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो। जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन्। संविधान जारी भएपछि दोस्रोपटक हालै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।