काठमाडौं– सरकारले आज आइतबार आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ।
दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ। हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आइतबार बजेट सार्वजनिक गर्न लागिएको हो।
यसअघि शनिबारको प्रतिनिधि सभा बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भइसकेको छ। नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
नीति तथा कार्यक्रममाथि बिहीबार, शुक्रबार र शनिबार छलफल भएको थियो। त्यसक्रममा सांसद्हरुले उठाएका प्रश्नहरूको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारकै दोस्रो बैठकमा जवाफ दिएका थिए। त्यसपछि सांसद्हरूले सोधेको स्पष्टीकरणको पनि जवाफ दिएका थिए।
शनिबार नीति तथा कार्यक्रममाथि सांसद्हरूले राखेका संशोधन प्रस्ताव पनि निर्णयार्थ पेश भएको थियो। तर, कुनै पनि संशोधन प्रस्ताव पारित हुन सकेका थिएनन्। त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश भएको थियो।
राष्ट्रिय सभाबाट शुक्रबार नै नीति तथा कार्यक्रम पारित भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।