काठमाडौं–नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व शिक्षामन्त्री गिरिराजमणिपोखरेलले लिपुलेकबारे छापिएको पाठ्युपस्तक किन वितरण गर्न नदिइएको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रश्न गरेका छन्।
संसदको नीति तथा कार्यक्रममाथि शनिबार आफ्नो धारणा राख्दै उनले ओली सरकारको समयमा नेपालको भूमि समावेश गरिएको पाठ्यपुस्तक छपाई गरे पनि वितरण नभएको बारे पनि संसदमा जवाफ दिनुपर्ने बताए। ओलीनेतृत्वको सरकारमा पोखरेल शिक्षामन्त्री थिए। त्यतिबेला नक्सामा समेटिएको भूमि समावेश गर्दै पाठ्यपुस्तक छपाई गरे पनि वितरण हुन सकेको थिएन।
त्यस्तै दुई–दुई पटक संसद विघटन गरे पनि फेरि त्यही संसदमा आएर लामो प्रवचन दिएका ओलीले विघटनबारे पनि बोल्नुपर्नेमा जवाफ नदिएको पाेखरेलले टिप्पणी गरे। उनले स्थानीय तहलाई स्रोत र जनशक्ति दिन उनले माग गरे।
नीति तथा कार्यक्रममा साह्रै महत्वाकांक्षी कार्यक्रम नभएको भन्दै उनले प्रगतिशील सरकारले ल्याएको भएकाले प्रगतिशीलतर्फ उन्मुख रहेको दाबी गरे। चिनी, चामलजस्ता वस्तु बाहिरबाट ल्याउने देशमा उद्योग खोल्ने कुरा सकारात्मक भएको उनले दाबी गरे। माटो परीक्षण र भूउपयोगको कुरा राम्रो भएको भन्दै उनले तराईमा सिँचाई र सिँचाई उद्योगमा विद्युत्त महसुल छुट दिने कुरा सकारात्मक भएको बताए।
नीति तथा कार्यक्रममा उल्लेख भएको नेपालमै रोजगारी दिने विषय तथा वैदेशिक रोजगारीका लागि नयाँ गन्तव्यको खोजी गर्ने कुरा परस्परविरोधी देखिएको टिप्पणी उनकाे थियाे। यस्तै नीति तथा कार्यक्रममा अन्तर मन्त्रालय समन्वयकाे विषय र मुलुकलाई दिगो विकासका लागि जनशक्ति प्रक्षेपणको कुरा नभएको उनकाे भनाइ छ। उनले शिक्षा मन्त्रालयको जनशक्ति प्रक्षेपण प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा रोकिएको भन्दै यसलाई अघि बढाउनुपर्ने बताए।
प्राविधिक शिक्षकको दरबन्दी बढाउने कुरा सकारात्मक भएको भन्दै उनले विश्वविद्यालयको पुनःसंरचनाको कुरा समावेश नभएको बताए। उनले सुर्तीजन्य पदार्थको कुरा नआएको र स्वाथ्य बिमाको कुरा अघि बढाउनुपर्ने बताउँदै हरेक प्रदेशमा मेडिकल कलेजको कुरा सकारात्मक भएकाले यसलाई कार्यान्वयन गर्नुपर्ने बताए। आयल निगमलाई पारदर्शी बनाउने र चुहावट अन्त्य गर्ने काम गर्नुपर्ने उनले बताए। लिपुलेकदेखि लिम्पियाधुरासम्मको कुरा समावेश भएको भन्दै उनले नेपालको भूमि फिर्ता लिन खुट्टा नकमाउन आग्रह गरे।
उनले स्थानीय सरकारले गर्ने काम पनि नीति तथा कार्यक्रममा समावेश भएको भन्दै तीन तहका अधिकार स्पष्ट हुनेगरि काम हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।