कामाठाडौं– नेकपा माओवादी केन्द्रका सांसद एवं प्रमुख सचेतक देव गुरुङले नेपालले व्याख्यात्मक घोषणामार्फत् पारित गरेको एमसीसी प्रतिवेदनमा अहिलेसम्म एमसीसीको मुख्यालयले लिखित पत्र नपठाएको भन्दै प्रश्न उठाए।
नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले किन पत्र लेखिएन र अहिले कार्यान्वयनमा अघि बढेको भन्दै शंका बाँकी रहेको बताए। सत्ता साझेदार दल माअोवादीका सचेतक गुरुङले अहिलेको सरकार दक्षिणतिर ढल्केको र उत्तरसँगको सम्बन्ध चिसोपन आएको दावी गरे।
‘नेपाललाई आइपिएसको अङ्ग बनाउने अनि अमेरिकी सेनाको आउने अवस्था अहिले पनि जारी रहेको छ,’ उनले भने, ‘द्विपक्षी सैन्य तालिमका नाममा सेनाको विमानबाट शंकास्पद वस्तुहरू ल्याउने काम हुने अनि चीनविरुद्ध गतिविधि हुनसक्ने देखिन्छ।’
एमसीसीको व्याख्यात्मक घोषणा भएको तर एमसीसीको मुख्यालयले अहिलेसम्म स्वीकार गरेको लिखित पत्र नपठाएकाले यसको कार्यान्वयनप्रति प्रश्न रहेको उनले बताए।
‘अमेरिकाले आइपिएसको अङ्ग बनाउदै नेपाललाई विश्वयुद्धतर्फ धकेल्ने त हैन,’ उनले भने, ‘नीति तथा कार्यक्रम व्यवहार त दक्षिणतर्फ मात्र केन्द्रित भएको र उत्तरतर्फ चिसोपन देखिएको छ।’
उनले चीनसँग पनि सम्बन्ध कायम गर्नुपर्ने दावी गरे। उनले भारतसँग संयुक्त रुपमा प्रशारण लाइन ग्रिड बनाउने कुरा पनि सच्चाउनुपर्ने दावी गरे। उनले सीमाबारे अमूर्त कुरा गरिएको र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि ल्याउन स्पष्ट नीति कार्यक्रममा समावेश गरिनुपर्ने उनले दावी गरे। उनले केही अस्पष्ट कुरा सुधार गरे सुस्पष्ट हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।