काठमाडौं– संसद् अवरोध गर्ने नेकपा एमालेको शैलीलाई लिएर माओवादी केन्द्रका सांसद गजेन्द्र महतले व्यंग्य गरेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शनिबार प्रतिनिधि सभाको रोस्ट्रममा पुगेका उनले ताला–चाबी पनि लगेका थिए। त्यो उनले सभामुखलाई दिएको बताए।
उनले एमालेले गरिरहेको संसद् अवरोधप्रति व्यंग्य गर्दै भने, ‘हिजो प्रतिपक्षीको हर्कत हेर्दा बोल्न पाइने होइन कि भन्ने लागिरहेको थियो। त्रासमै थिएँ म। अहिले पनि अलि मोटो श्वर गर्ने हो भने, ठूलो श्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर अहिले पनि म चिन्तामै छु फेरि।’
महतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै धित मरुञ्जेल तीन घण्टा गाली गर्ने र धित मरिसकेपछि संसद् अवरोध गर्न खोज्ने गरेको बताए।
‘(संसद्लाई) ताला लगाउन खोज्नुहुन्छ। त्यसो हुनाले मैले ताला र चाबी ल्याएको छु। तपाईंहरु धीत मरुञ्जेलसम्म बोल्नुहोला। त्यसपछि हामी बोल्ने बेला ताला चाबी लगाइदिनुहोला। र जतिबेला बोल्न मन लाग्छ, आउनुहोला र यो ताला चाबी खोल्नुहोला अनि बोल्नुहोला,’ उनले भने।
त्यतिञ्जेल हातमा ताला र चाबी झुन्ड्याएका उनले त्यसलाई सभामुखलाई बुझाएको बताए। तर, ओलीको शैलीप्रति उनको दिक्दारी कम भएको थिएन। भने, ‘अरु कुरा के छ भने। लामो बोल्ने समय छैन फेरि। गाली गर्नेलाई ३ घण्टा छ। कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट छ। त्यसो हुनाले पनि मलाई गाह्रो भइरहेको छ, कसरी बोल्ने, के गर्ने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।