काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले काठमाडौंमा सडक विस्तार आयोजना भन्दा पनि फुटपाथ विस्तार आयोजना चाहिएको बताएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा शनिबार उनले अझ अगाडि बढेर कार्यक्रम मात्रै नभई परियोजना नै चाहिएको बताए।
‘काठमाडौंमा कुनै बेला सडक विस्तार आयोजना भनेर बडो चर्चा गरियो, हल्ला गरियो। काठमाडौंलाई चाहिएको सडक विस्तार आयोजना होइन। काठमाडौंलाई चाहिएको फुटपाथ विस्तार सुदृढीकरण, पुनःस्थापना, निर्माण, स्तरोन्नति आयोजना हो। यहाँ कार्यक्रम पर्यो र? कार्यक्रम मात्रै होइन, हामीले मागेको परियोजना नै हो’, थापाको भनाइ थियो।
थापाले सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौं उपत्यकाभित्र फुटपाथ विस्तार, निर्माण, पुनःस्थापना, स्तरोन्नति परियोजना भयो भने काठमाडौंभित्रको ’मोबिलिटी’मा ठूलो बदलाव आउने बताए। ‘यो कुराको सन्दर्भमा सरकारले संकेत गरेको छ। यो सही ढंगले अगाडि जाओस्’, उनको आग्रह छ।
थापाले सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर ७१ को चर्चा गरेका थिए। सो बुँदामा भनिएको छ, ‘काठमाडौं उपत्यकामा सार्वजनिक यातायात प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउन उपत्यकाभित्रका स्थानीय तहसँग सहकार्य र साझेदारी गरी एकीकृत सार्वजनिक यातायात योजना कार्यान्वयन गरिनेछ। काठमाडौं उपत्यकाका सडकहरू पैदलयात्रीमैत्री बनाउनका लागि फुटपाथ विस्तार गरिनेछ।’
हरेकपटक काठमाडौंका सांसद्ले प्रत्येक प्रधानमन्त्रीलाई, सहरी विकास मन्त्रीलाई भेटेर आफूहरूले सो विषय भन्ने गरेको भए पनि कहिल्यै सुनुवाइ नभएको तर यसपटक भएको थापाले बताए। ‘सार्वजनिक यातायात प्रणाली कुनै एउटा नगरपालिकाले गरेर हुँदैन। सिंगो काठमाडौंका पालिकाहरू एक ठाउँमा आएर सार्वजनिक यातायात प्रणाली बनाउनुपर्छ, एकीकृत हुनुपर्छ भन्ने हाम्रो कुरालाई नीतिमा ल्याएको छ। अब यसलाई अगाडि बढाउने कुराको सन्दर्भमा सबै तहसँग छलफल होस्’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।