काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको मेयरमा विजयी भएका उम्मेदवार मात्रै स्वतन्त्र उम्मेदवार भएको टिप्पणी गरेका छन्। दलको चुनाव चिह्नभन्दा बेग्लै चुनाव चिह्न लिएर जिते पनि अरु ठाउँका उम्मेदवारलाई स्वतन्त्र भन्न नमिल्ने प्रचण्डको भनाइ छ।
प्रतिनिधि सभाको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, 'वडो विशिष्ट ढंगले दुईटा पात्र, काठमाडौंको मेयरमा र धरानको मेयरका जो विजयी हुनुभयो, उहाँहरु साँचो अर्थमा स्वतन्त्र रुपमा आउनुभयो र कोही पार्टी उहाँहरुका पछाडि, पार्टीका नेता/कार्यकर्ता उहाँहरुका पछाडि लागेर हिँडेको देखिएन।बाँकी मैले देखेको उहाँहरु स्वतन्त्र भनिए पनि उहाँहरु स्वतन्त्र होइन, पार्टी नै हो।'
जनकपुर र धनगढी उपमहानगरपालिकाको उदाहरण दिँदै प्रचण्डले त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका उम्मेदवारको पछाडि पार्टीका नेता/कार्यकर्ता देखिएको बताए।
'जनकपुरको तपाईं हामीले हेर्यौं। मेयर जसले जित्नुभयो नेपाली कांग्रेसका वरिष्ठ नेतादेखि कार्यकर्ताहरु सबै विजय र्यालीमा हिँड्नुभएको छ। कसरी स्वतन्त्र?,' प्रचण्डले भने, 'धनगढीकै कुरा गरौं, कसरी स्वतन्त्र? पार्टीकै मान्छे लागिरहेका छन्। तर, काठमाडौंको मेयर र धरानको मेयरका उम्मेदवार चाहिँ अलि विशिष्ठ ढंगले प्रस्तुत हुनभयो।'
स्वतन्त्र उम्मेदवारको विजयलाई राजनीतिक दलका लागि चुनौतीको रुपमा विश्लेषण गर्ने गरिए पनि आफूलाई त्यस्तो नलागेको प्रचण्डको भनाइ छ।
'यल्लाई विभिन्न ढंगले हेरिएको छ। एकथरीको भनाइ छ कि यो राजनीतिक दलहरुका निम्ती राम्रै झापड हो भनेर आइराख्या छ, केही बुद्धिजीविहरुका टिप्पणी। राजनीतिक दलहरुलाई चुनौती हो भनेर पनि आइराख्या छ,' प्रचण्डले भने।
स्वतन्त्र उम्मेदवारहरुको जितले दलहरुलाई आफ्न नीतिमा पुनर्विचार गर्नुपर्ने, सच्याउनुपर्ने र समीक्षा गर्नुपर्ने सन्देश भने दिएको प्रचण्डको भनाइ छ। 'राजनीतिक दलहरुले आफ्ना नीतिहरुमा पुनर्विचार गर्नुपर्ने, सच्याउनुपर्ने, समीक्षा गर्नुपर्ने, उम्मेदवार छनौट गर्दा त्रुटी भएको छ भने त्यसलाई सच्याउनेमा ध्यान दिनुपर्ने पक्कै बनाएको छ। तर, यो राजनीतिक दललाई चुनौती नै हो भनेर बुझ्नु चाहिँ हुँदैन।'
संघीय लोकतान्त्रिक गणतन्त्रकै फूलबारीभित्र काठमाडौं र धरानमा नयाँ फूलहरु फक्रिएको प्रचण्डको भनाइ छ।
'म चाहिँ के भन्छु भने काठमाडौं र धरानमा जुन विचार, प्रवृतिसहित जुन संकल्पसहित २ जना युवाहरु जनताको बीचमा प्रस्तुत हुनुभयो त्यो चाहिँ विशिष्ट छ र त्यसलाई विशिष्ट मान्नुपर्छ। संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारी भित्र काठमाडौं र धरानमा फेरि नयाँ फूलहरु फक्रिएको जस्तो ठान्छु म चाहिँ,' प्रचण्डले भने, 'फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्रकै हो। यही संविधानकै फूलबारी भित्र।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।