काठमाडौं– उद्योग तथा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेताविरुद्ध बोलेका असंसदीय शब्द हटाउने सहमतिपछि संसद् बैठक पुनः सुरु भएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा सार्वजनिक महत्वका विषयमा विशेष समय लिएर बोल्न पुगेका बडूले ओलीले बिहीबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बारेमा बोलेको कुराको जवाफ दिने क्रममा असंसदीय भाषा प्रयोग भएको भन्दै एमालेले संसद अवरुद्ध गरेको थियो।
प्रतिनिधि सभाको बैठक स्थगित गर्दै उक्त विषयमा छलफल गरिएको थियो। छलफलपछि बडूले आफ्ना भनाइ राख्ने क्रममा प्रयोग गरेका आपत्तिजनक शब्द संसद्को रेकर्डबाट हटाउने सहमति भएको हो।
बडूले प्रतिपक्ष दलका नेता ओलीको उक्त भनाइ भ्रामक, स्तरहीन र खेदजनक रहेको बताएका थिए। नेकपा एमालेका सांसद खगराज अधिकारीले ‘स्तरहीन’ शब्द गालीगलौज भएको बताउँदै नियमापत्ति गरे।
सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा रुलिङ गरे पनि मन्त्री बडु रोकिएनन्। उनले थपे, ‘जनताको हितमा गरिने सत्कार्यमा कमिसन मात्रै देख्ने दुर्नियत देख्दा, साउनको महिनामा दृष्टि गुमाएको गोरुले हरियो मात्रै देख्छ भन्ने उखान स्मरण गराउँछ।’
उनले प्रयोग गरेको उखानले एमाले सांसद्लाई थप उद्वेलित बनायो। ओलीलाई जवाफ दिने क्रममा बडूले थपेका थिए, ‘आफू प्रम हुँदा कमिसन नै कमिसनकव चास्नीमा रमाइरहेकाले सत्ता गुमाउन पुगेकाले कमिसनबाहेक के देख्न र सोच्न सक्दछ र भन्ने प्रमाणित गराउँदछ।’ यी भनाइमा एमालेले नियमापत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।