काठमाडौं– यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्था हटाउन र दण्ड सजायको व्यवस्थासमेत पुनरावलोकन हुनुपर्ने भन्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ।
महिला सांसदहरूले शुक्रबार राष्ट्रियसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका हुन्। संकल्प प्रस्तावमा कमला पन्त प्रस्तावक रहेकी छन् भने सांसदहरू विमला राई पौडयाल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह(गरिमा), शेखरकुमार सिंह, गंगाकुमारी वेलवासे र तुलप्रसाद विश्वकर्मा समर्थक रहेका छन्।
बाल यौन दुर्व्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्था पूर्ण रुपमा हटाउने, बालबालिका बाहेक अन्यको हकमासमेत बलात्कार जस्तो जघन्य अपराधमा उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन र पुनर्विचार गरि आवश्यक संशोधन गर्ने माग गरिएको छ।
राष्ट्रियसभा सचिवालयले उक्त संकल्प प्रस्तावलाई कार्यव्यवस्था परामर्श समितिको आगामी बैठकको कार्यसूचीमा राख्न भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।