काठमाडौं– उद्योग तथा वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेताविरुद्ध ‘जथाभावी’ बोलेको भन्दै एमालेले संसद् अवरुद्ध गरेको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा सार्वजनिक महत्वका विषयमा विशेष समय लिएर बोल्न पुगेका बडूले ओलीले बिहीबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बारेमा बोलेको कुराको जवाफ दिँदै ओलीको भनाइ ‘स्तरहीन’ भएको बताए।
बडूले भने, ‘ओलीको उक्त भनाइ भ्रामक, स्तरहीन र खेदजनक छ।’ नेकपा एमालेका सांसद खगराज अधिकारीले ‘स्तरहीन’ शब्द गालीगलौज भएको बताउँदै नियमापत्ति गरे। उनले भने, ‘नेपाल सरकारका मन्त्रीले स्तरहीन भनेर गालीगलौज गर्न पाइँदैन। शब्द फिर्ता लिनुपर्छ।’
सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा रुलिङ गरे। तर, मन्त्री बडू रोकिएनन्। उनले थपे, ‘जनताको हितमा गरिने सत्कार्यमा कमिसन मात्रै देख्ने दुर्नियत देख्दा, साउनको महिनामा दृष्टि गुमाएको गोरुले हरियो मात्रै देख्छ भन्ने उखान स्मरण गराउँछ।’
उनले प्रयोग गरेको उखानले एमाले सांसद्लाई थप उद्वेलित बनायो। ओलीलाई मुखभरिको जवाफ दिने तयारीका साथ आएका बडू अझै अघि बढे, ‘आफू प्रम हुँदा कमिसन नै कमिसनको चास्नीमा रमाइरहेकाले सत्ता गुमाउन पुगेकाले कमिसनबाहेक के देख्न र सोच्न सक्दछ र भन्ने प्रमाणित गराउँदछ।’
एमालेले नियमापत्ति गरिरह्यो। सांसद्हरुले विरोध जनाउँदै संसद् नै अवरोध गरे। होहल्लाकाबीच मन्त्री बडू फेरि बोलिरहे। मन्त्री बडूबाट ओलीलक्षित अर्को वाण प्रहार भयो, ‘सत्ता गुमाएको कुण्ठा र रोदन कम गर्न पनि सुझाव दिन चाहन्छु।’
यसबीचमा एमाले विरोध जनाइरहेको थियो। बडूले बोलिरहेपछि नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बोल्ने समय मागे। उनले प्रमुख प्रतिपक्ष दलका नेतामाथि गम्भीर आक्षेप लगाउँदै सडकमा पनि प्रयोग गर्न नमिल्ने भाषा प्रयोग भएको बताए।
उनले भने, ‘मन्त्रीबाट आफ्नै गरिमा घटाउने काम मात्र भएको छैन, संसद्को गरिमा पनि घटाउने काम भएको छ।’
भट्टराईले संसद् जथाभावी बोल्ने थलो नभइ जनताको आवाज बोल्ने थलो रहेको मन्त्री बडूलाई स्मरण गराए। ओलीमाथि नेपाल सरकारका मन्त्रीले लगाएको आक्षेप सामान्य रुपमा लिन नमिल्ने बताउँदै उनले संसदीय छानबिन समितिको माग गरे।
‘मन्त्रीले इज्जतको दाउ राखेर मनपरी शब्द बोल्न पाउँदैन। असंसदीय र गैरराजनीतिक शब्द रेकर्डबाट हटाउने र संसदीय समिति बनाउन माग गर्दछौं’, उनले भने।
सभामुख सापकोटाले मन्त्रीलाई बोल्न बाँकी भए आफ्ना भनाई राख्न समय दिए। एमालेको अवरोधकै बीच केही स्पष्ट पार्न खोजे पनि एमालेले सहज रुपमा नलिएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि संसद् स्थगित गरेका छन्।
नीति तथा कार्यक्रममाथि छलफल भइरहेकको संसदमा मन्त्री बडूले विशेष समय लिएर बोलेपछि विषय प्रवेश नै नभइ संसद स्थगित हुन पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।