काठमाडौं– सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको प्रतिनिधि सभाको शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन उभिएका उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले गरेको टिप्पणीमाथि एमालेले आपत्ति जनाएपछि विवाद शुरु भएको थियो।
मन्त्री बडुले ओलीले आयल निगम निजीकरण गर्न लागिएको र कमिसनको खेल भएको भनि गरेको टिप्पणीमा जवाफ दिनेक्रममा मन्त्री बडूले 'साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्ने' र आफू कमिसनमै रहँदा सत्ता गुमाएको भनि टिप्पणी गरेपछि एमाले नेताहरुले नियमापत्ति जनाएका थिए।
उनीहरुले प्रमुख प्रतिपक्षी दलका नेतामाथि भएको टिप्पणी संसद्को रेकर्डबाट मेटाउन माग गरेका थिए। सुरुमा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति जनाएका थिए भने पछि प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको ध्यानाकर्षण गराएका थिए।
भट्टराईलाई समय उपलव्ध गराएर सभामुखले सम्झाउने प्रयास गरेपनि सफल हुन सकेनन्। एमालका सांसद्हरुले उक्त अभिव्यक्ति तत्काल रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए। नभए संसदको कारबाही अघि बढ्न नसक्ने भन्दै एमाले सांसदहरु उभिएर विरोध गरेपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।