काठमाडौं– शुक्रबार बागमती प्रदेश सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सुरु हुनेछ।
यो बैठक प्रदेश सभाको दशौं अधिवेशनको पहिलो बैठक हो। पहिलो बैठकमा प्रमुख प्रतिपक्ष र विभिन्न दलका नेताहरुले शुभकामना सन्देश राख्ने र विभिन्न अध्यादेश पेस गर्ने कार्यतालिका रहेको बागमती प्रदेश संसद् सचिवालयले जनाएको छ।
शुक्रबार नै बस्ने दोस्रो बैठकमा प्रि बजेटमाथिको छलफल हुनेछ। पहिलो बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गर्ने कार्यसूची छ।
त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्नेछन्।
प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ पनि संसद्मा पेस हुने भएको छ।
यी अध्यादेशहरु संसद् सञ्चालन नभएको समयमा प्रदेश सरकारले ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।