पोखरा– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक वर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
मन्त्री श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताएका हुन्।
मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि पोखराबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराइने उल्लेख गरिएको चर्चा गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरू काठमाडौं जान नपर्ने गरी सवै सेवा उपलब्ध गराइने बताए।
पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न सहयोग गर्ने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाए। नवनिर्वाचित महानगरपालिका प्रमुखले शपथ ग्रहणसँगै पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेका छन्।
मन्त्री श्रेष्ठले देशकै ठूलो महानगर पोखराको विकासका योजना, सम्पदा संरक्षण, फोहर व्यवस्थापन लगायतका काममा संघीय सरकारबाट पूर्ण सहयोग हुने बताए।
पोखराको सबैभन्दा ठूलो समस्या ठानिएको ल्याण्डफिल साइट व्यवस्थापनका लागि पनि संघीय सरकारले सहयोग गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।