काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बालेन साह निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी भन्दा निकै मतको अग्रता बनाइरहेका साह विजयी भएका हुन्।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत महानगरको मतगणना बिहीबार राति सकिएको हो। वडा नम्बर १४ को मतगणना सकिसँगै महानगरले नयाँ नेतृत्व पाएको हो।
महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छन्। महानगरको मत गणना सकिए पनि औपचारिक घोषणा शुक्रबार बिहान गर्ने तयारी गरिएको छ।
बिहान ६ बजे अन्तिम मतपरिणामबारे घोषणा हुने भएसँगै बालेन समर्थकहरुलाई ६ बजे प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह क्षेत्रमा भेला हुन र त्यसपछि विजयी र्यालीमा सहभागी हुन आह्वान गरेका छन्।
विजय र्याली सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा आउने छ। टुँडिखेलमा धन्यवाद सभा आयोजना हुने कलाकार अर्जुन घिमिरेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।