काठमाडौं– नेकपा एमालेका नेता एवम् सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न सरकारसँग माग गरेका छन्। बेरोजगार युवाहरुलाई हरियो राहदानी (पासपोर्ट) दिएर विदेश पठाउनुभन्दा गाँजाका बिरुवा दिएर आत्मनिर्भर बनाउनुपर्ने उनको भनाइ छ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै तामाङले अब युवाहरूलाई रोजगारीको खोजीमा हरियो पासपोर्ट दिएर विदेश पठाउनुको साटो गाँजाका बिरुवा दिएर आत्मनिर्भर बनाउनुपर्ने बताए। यसका लागि संसद्मा दर्ता भएको विधेयकलाई कानुनी स्वरूप दिनुपर्ने तामाङले माग गरे।
‘संसदमा गैरसरकारी विधेयकको रूपमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छलफलमा लैजानुपर्छ। यसलाई पारित गरेर वैधानिक बनाऔँ,' तामाङले भने।
गाँजा खेतीले अर्थतन्त्रमा अर्थतन्त्रमा टेवा पुग्ने तामाङको भनाइ छ। 'कानुन बनेमा हरियो पासपोर्ट च्यापेर विदेशको श्रम बजार जाने युवाहरूलाई हरियो गाँजाको बोट समातेर गाउँमा पठाउनेछौँ र कृषिमा नयाँ क्रान्ति हुनेछ। यसले अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ,' तामाङले भने, 'त्यस कारणले यो विधेयक संसद्मा छिटोभन्दा छिटो छलफलमा लिएर पारित गराउने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।