काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग जनताको समृद्धिका लागि कुनै नीति तथा कार्यक्रम नभएको टिप्पणी गरेका छन्।
संसद्मा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले कांग्रेससँग सत्ताभोगको नीतिबाहेक देश र जनताका लागि कुनै नीति नभएको उल्लेख गरेका छन्।
ओलीले कांग्रेस नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति व्यङ्ग्य गरेका छन्। उनले अस्पताल विकास, पानी जहाज, गुणस्तरीय सडकको योजना ल्याउँदा एमालेलाई धारेहात लाउनेले धन्न खारेज नगरेको बताए।
उनले सरकारको नीति तथा कार्यक्रममाथि व्यङ्ग्य गर्दै भने, ‘मलाई त लागेको थियो एमालेका सबै कार्यक्रम कांग्रेसले खारेज गर्छ। यातायातका लागि डोको नाम्लो र डोलीको व्यवस्था गरिनेछ। सामान ढुवानीका लागि महँगो पर्ने भएका कारण भरिया र खच्चड व्यवसायलाई प्रवर्द्धन गरिनेछ भन्ने कार्यक्रम पक्कलै आउला भन्ने सोचेको थिएँ। यस्ता कार्यक्रम आउला भनेर सुनेर बसेको त केही पनि छैन। हिजोको सरकारलाई धारे हात लाएर गाली गरेकै कार्यक्रमहरू आए।’
यस्तै ओलीले कांग्रेससँग एमालेले ल्षएका नीति तथा कार्यक्रम पनि हटाउने आँट नभएको अहिलेको नीति तथा कार्यक्रमले स्पष्ट पारेको दावी गरे। ‘सूर्यजस्तै छर्लङ्ग भएको छ, नेपालीको स्वाभीमान उच्च राख्ने कुनै नीति कांग्रेससँग छैन। कुनै भिजन छैन, गन्तव्य केही छैन। अझ भनौं एमालेले अघि बढाएका नीति तथा कार्यक्रम हटाउने आँट पनि छैन। विरोध गरुन्जेल मात्रै हो, तर हटाउने आँटै छैन’, उनले भने।
ओलीले नीति तथा कार्यक्रम अध्यनन गर्दा आफूसमेत अल्मलिएको बताए। ‘परमादेशी सककारले ल्याएको नीति तथा कार्यक्रम सुन्न म मौन थिएँ, राष्ट्रपतिबाट प्रस्तुत भएपछि मैले सुनेँ, अल्मलिएँ, घरमा गएपछि फेरि दोहो¥याएर पढेँ, तर यसो हेर्दा त एमालेकै सरकारले अघि बढाएका योजनाहरू समावेश रहेछन्,’ उनले भने।
पूर्वपश्चिम राजमार्ग, सुरुङ निर्माण, रेल सञ्चालन लगायतका योजना एमाले सरकारले अघि सार्दा दिवा सपना भन्ने कांग्रेसले अहिले तिनै दिवास सपनाका कार्यक्रम अघि बढाउँदै नयाँ नीति तथा कार्यक्रम ल्याउने हिम्मत नगरेको ओलीको भनाइ छ।
‘रेलमार्ग, पानी जहाज, अन्तरिक्षमा आफ्नै स्याटलाइट, आफ्नै प्रिन्टिङ प्रेस लगायतका योजना हामीले ल्याउँदा अब सिध्याउँछ भन्दै थर्कमान भए’, ओलीले भने, ‘कांग्रेसले आकाश नै खसाउँछ कि भन्ने लागेको थियो। तर, हिजो सरकारलाई जुन योजनाका कारण धारे हात लाएर गाली गरियो अहिले तिनै योजनाले त निरन्तरता पाएका छन्।’
साथै वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षालाई खारेज गरेर ठिकै गरेको व्यङ्ग्य गरे। त्यो अकांक्षा पूरा गर्ने हुति कांग्रेससँग नभएको उनको भनाइ छ।
उनले भने, ‘म व्यग्रतापूर्वक सुन्दै थिए, समृद्ध नेपाल र सुखी नेपालीका आकांक्षा पूरा गर्न सुरु भएका कार्यक्रमहरु बन्द गरिने हो कि भनेर, कार्यक्रम पढिसक्दा आश्चर्यमा परेँ, त्यो आकांक्षालाई अघि बढाउने त तपाईंहरूको हुति नै थिएन। त्यसैले हटाउनु भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।