फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा धम्कीका कारण चुनावा जितेको आरोप लगाएका छन्। चुनावअघि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले धम्कीपूर्ण अभिव्यक्ति दिएका कारण भोट हाल्न बाध्य तुल्याइएको ओलीको टिप्पणी छ।
'चुनावको सन्दर्भमा नेताहरुले यदि फलानोलाई भोट नदिने हो भने देश दुर्घटनामा जान्छ। यदि खुरुक्क हाल्छन् भने म उत्साहित हुन्छु। गठबन्धन कायम हुन्छ भने,' उनले भने, 'जनतालाई धम्काउने र तर्साउने काम भयो। देशलाई दुर्घटनामा पुर्याउने भनिएको छ।'
उनले मतदाताले द्वन्द्वकाल सम्झिएर भोट हालेको बताए। 'जनताले छोराछोरी विदेशिनु परेको सम्झिए। आतंक छाएको सम्झिए। मान्छे मारिएका र अपहरण भएको सम्झिए,' ओलीले थपे, 'बोरामा हालेर चितवनमा घिसारिएको सम्झिए। दुर्घटना सम्झिए।'
उनले प्रलोभन र पैसा समेत बाँडिएको आरोप लगाए। त्रास र धम्की दुवै दिइएको उल्लेख गर्दै उनले रुखमा भोट नहाल्नेलाई बजेट नपठाइनेसम्म बताइएको स्मरण गराए।
ओलीले देउवाले आफ्नै निर्वाचन क्षेत्र डडेलधुरामा मेडिकल कलेज बनाउने बताएको उल्लेख गर्दै उनको आफ्नै वडामा भने केही नजाने बताए।
उनले भने, 'डडेलधुराको अमरगढी जितेको छ कि छैन? नजितेको भए त मेडिकल कलेज कुन कुनामा जाने होला। देउवाको आफ्नै वडामा भने केही जाने भएन। किनभने त्यहाँ रुख चिह्नले जितेन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।