फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा यो तहको राज्यसंयन्त्रको दुरुपयोग पञ्चायतकालमा समेत नभएको बताएका छन्। प्रमुख प्रतिपक्ष दलको नेताका रुपमा बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, 'राज्यसंयन्त्रको यो तहको दुरुपयोग पञ्चायतकालमा पनि भएको थिएन। यस्तो नांगो ढंगले सत्ता कब्जै गर्ने खालको काम पञ्चायतमा पनि भएको थिएन।'
प्रतिपक्षलाई सिध्याउने घोषित नीति नै लिएर निर्वाचन गरिएको उनको भनाइ थियो। उनले पत्तासाफ गर्ने र धुलो चटाउने नीति लिएर चुनाव गराइएको दाबी गरे।
उनले भने, 'एमालेलाई धुलो चटाउने घोषित नीति थियो। पत्तासाफ गर्ने भनिएको थियो। जसरी पनि आफ्नो पक्षमा चुनाव पार्नैपर्ने भनिएको थियो। जसरी जित्नैपर्छ भन्ने गीत बनाएरै गाउनुभयो।'
ओलीले प्रतिपक्ष दलका कारण कुनैपनि ठाउँमा निर्वाचन स्थगित नभएको बताएका छन्। १४ दिनसम्म पनि सबै ठाउँको परिणाम आउन नसकेकको बताउँदै उनले सत्ता पक्षका दलकै कारण कतिपय ठाउँमा मतदान स्थगित भएको बताए।
उनले भने, 'सुरुका दिनमा केही ठाउँमा छिटफुट भएका होलान्। धेरै ठाउँमा शान्तिपूर्ण भए होलान् भनिएको थियो। तर, त्यसो भएन। कति बुथमा धाँधलीका कारण चुनाव नै स्थगित भएको छ। एक ठाउँमा पनि प्रतिपक्षका कारण चुनाव स्थगित भएको छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।