काठमाडौं– नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अबको ७ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन जारी गरेको छ।
स्थानीय तहको निर्वाचनमार्फत् विभिन्न पालिकाका विभिन्न पदमा निर्वाचित भएका जनप्रतिनिधिलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण गर्न सार्वजनिक गर्न भनिएको हो।
पार्टी महासचिव बेदुराम भुसालले बुधबार निर्वाचन विशेष सर्कुलर जारी गर्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले सम्पत्ति विवरण सार्वजनिक गरे/नगरेकोबारे अनुगमन गर्न सबै जिल्ला कमिटीहरुलाई निर्देशन दिइएको छ।
'जवाफदेहिता र पारदर्शीता जनताको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र हो जसले जनताको सेवामा समर्पित योद्धाहरूलाई उर्जा समेत प्रदान गर्दछ। तसर्थ, हाम्रो पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरूले आगामी जेठ १७ गतेभित्र आ-आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुहोला,' महासचिव भुसालद्वारा जारी सर्कुलरमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।