काठमाडौं— मंगलबार मध्यान्ह काठमाडौंको माइतीघर मण्डलमा ‘आभा फर क्रिएटिभिटी’ले नाटक प्रदर्शन थाल्यो। छेउमा पाँच जना आमाहरू बसेका छन्। आमाहरू नवराज विकसहितका छोराको तस्बिरमा एकोहोरो हेरिरहेका छन्।
पश्चिम रुकुमको चौरजहारीमा दुई वर्षअघि भएको ‘सामूहिक हत्या’मा नवराज विकसहित उनका साथीहरूले ज्यान गुमाएका थिए।
‘हत्या’मा संलग्न दोषीलाई कारबाहीका लागि माइतीघर मण्डलमा खबरदारी कार्यक्रम गरिएको हो। त्यही कार्यक्रमको ब्यानरमुनि आमाहरु न्याय पाउने आसामा बसेका छन्।
खबरदारी कार्यक्रममा देखाइएको नाटकमा कलाकारले अभिनय गर्दै जाँदा आमाहरूका आँखा रसाउन थाल्छन्। एक पात्र हातमा रहेको गुलाबको फूल प्रेमिकालाई दिँदै गर्दा रगताम्य भएर ढले। पात्रसँगै प्रेम ढल्यो। अनि, त्यहीँबाट दन्कियो प्रतिरोधको आगो।
यति नै बेला काखमा नानी च्यापेका आमाहरूको आँखाबाट आँसुको भेल बग्यो। यो दृश्यले रुकुम ‘नरसंहार’को झल्को दिइरहेको थियो।
दुई वर्षअघि २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित ६ जनाले ज्यान गुमाए। कारण थियो, कथित माथिल्लो जातकी किशोरीसँगको प्रेम सम्बन्ध।
रुकुम पश्चिमको चौरजहारी–८ सोतीगाउँकी प्रेमिका सुस्मा मल्ललाई लिन नवराज साथीसहित त्यहाँ पुगेका थिए। केटीका परिवारले सम्बन्ध स्वीकार गर्न नसक्ने अवस्था भएपछि नवराज साथीहरू लिएर भगाउन गएका थिए। तर, उनकी प्रेमिकाका परिवारले नवराजसहित साथीहरूलाई लेखेटी–लेखेटी भेरीमा हेलिन बाध्य पारे। उक्त घटनामा नवराज, लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टिकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाए। १२ जना घाइते भए।
सोही घटनामा संलग्नलाई कारबाहीको लागि खबरदारी गर्न विभिन्न संघसंगठनले मंगलबार माइतीघरमा कार्यक्रम आयोजना गरेका हुन्। सोही खबरदारी कार्यक्रममा मृतक पाँच जनाका आमा जाजरकोटबाट काठमाडौं आइपुगेका हुन्।
गाउँमा यति बेला कामको चटारो छ। गहुँ बाली भित्र्याउनु ढिला भइसकेको छ। तर, छोराका हत्यारालाई कारबाही नभएसम्म उनीहरू ढुक्कले बस्न पाएका छैनन्।
आमाहरूका आँखामा सुकेन आँसु
छोरा गुमाएको दुई वर्षपछि पनि लोकेन्द्र सुनारकी आमा लक्ष्मीका आँखामा आँसु उस्तै छ। घरमा दुई छोरा एक छोरी छन्। जेठो छोरो बिहे गरेर अलग बस्छन्। कान्छा छोरा र छोरीसँगै छन्। दुर्घटनामा परेर २०७४ फागुनमा श्रीमानको मृत्यु भयो। छोरी पनि घाइते छिन्।
महाराजगञ्जस्थित टिचिङ अस्पतालमा तीन महिना छोरीको उपचारमा बसिन्। छोराको न्यायका लागि उनी तीन पटक काठमाडौं आइसकिन्। यसपटक पनि जाजरकोट छाड्दैदेखि उनका आँखा बगेका हुन्। स्वर भासिइसकेका छ। संघर्ष जारी छ। तर, आफूहरूलाई राज्यले न्यायको प्रत्याभूति नदिएको उनले गुनासो गरिन्।
सन्दीप विककी आमा सविता पनि न्यायका लागि काठमाडौं आएकी छिन्। सन्दीपको छोरा ५ वर्षको भयो। ‘नातिलाई हेरेर छोराको नियास्रो मेट्ने गरेको छु। बुहारी माइतिमा छिन्। बेलाबेला आउँछिन्,’ उनले भनिन्, ‘लाउँला र खाउँलाको उमेरमा छोराका हत्या गरिदिए। दुई वर्ष भयो न्याय पाएको छैन। बुहारीलाई घर पनि बिरानो भयो।’ श्रीमानले नेपाली सेनाबाट अवकाश पाएकाले घरखर्च त्यहीँबाट आउँछ।
उनलाई वर्तमान अर्थमन्त्री जर्नादन शर्मासँग पनि चित्त दुखाइ छ। ‘उनले हाम्रा छोरा नदीमा हामफालेर मरेको भने। तर, बन्चरो, खुकुरी, आसी र भाटाले हानेर छेदविछेद भएका शरीर थिए। जनार्दन शर्माले कसरी भन्नु भयो भेरीमा हाम फालेर मरेका?’ उनले प्रश्न गरिन्।
टीकाराम नेपालीका आमा गिता नेपाली काखमा तीन महिनाको बच्चा बोकेर काठमाडौं आएकी छन्। उनी सुत्केरीबाट बल्ल उठेकी हुन्। छोराको मृत्यु भएको दुई वर्ष बित्यो। न्यायको अनुभूति भएको छैन।
घरमा श्रीमान् छन्। गहुँ चुटेर आएकी हुन्, थन्काएको छैन। ज्यालादारी गरेर घरखर्च चलाउँछन्। छोरीको बिहे भैसकेको छ। ‘हाम्रो साहारा छोरा थियो। काम गरेर पनि पाल्छ भन्ने थियो, तर, हत्या गरिदिए,’ उनी भन्छिन्, ‘न्याय पाउँला भनेर काठमाडौंसम्म आएका छौँ। यो दुई वर्ष कहिले काठमाडौं, कहिले सुर्खेत, कहिले रुकुम, कहिले जाजरकोट गर्दा बिते। कुनै रात छैन होला, चैनको निन्द्रा परेको होस्।’
न्यायको आशा लिएर नवराज विककी आमा उर्मीला पनि काठमाडौं आएकी छिन्। बुवा मुनलाललाई भने ढाडको समस्या भएकाले हिँडडुल गर्न पनि गाह्रो छ। थुनामा राखेका ११ जना छुटिसकेकाले न्याय मिल्दैन कि भन्ने उनलाई डर छ। आरोपितहरू छुट्दै जाँदा आफूहरू पनि मारिने हो कि भन्ने डर भएको उनी बताउँछिन्।
बुढेसकालको साहारा मारिएपछि आफूहरू न्यायका लागि लड्न बाध्य भएको उनी बताउँछिन्। ‘मर्ने त अब मरिसके। फर्केर आउँदैनन्। तर, न्याय नमरोस् भनेर हामी यहाँ आएका हौँ,’ उनी भन्छिन्।
उक्त घटनामा मृत्यु भएका गणेश बुढाकी आमा राधिका पाँच हजार रुपैयाँ ऋण काढेर काठमाडौंमा आएकी हुन्। पहिलो पटक काठमाडौंमा पाइला टेकेकी उनी माइतीघर मण्डलमा छोराकै फोटो राखिएको ब्यानरमुनि बसेकी छन्। चार पटक सुर्खेत, तीन पटक रुकुम र यसपटक काठमाडौं धाउँदा धेरै खर्च भइसकेको उनी बताउँछिन्। यसपटक पनि ल्याएको पैसा सकिएपछि उनले श्रीमानलाई ऋण खोजेर पठाइदिन भनेकी छन्। ‘ज्यालामजदुरी गरेर खानुपर्छ। तर, जति पैसा खर्च भए पनि छोरोका लागि न्याय मिलोस्,’ उनी भन्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।