काठमाडौं– चालू आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।
पछिल्लो १० महिनाको अवधिमा भएको यो व्यापार घाटा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो। अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ थियो।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको वैशाख मसान्तसम्म मुलुकको वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब रुपैयाँ बराबर पुगेको छ।
यस्तो व्यापार अघिल्लो आवका तुलनामा ३० दशमलव ४९ प्रतिशतले बढी हो। गत आवको १० महिनाका अवधिमा मुलकको वैदेशिक व्यापार १३ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ बराबको थियो।
सार्वजनिक तथ्याङ्कअनुसार वैदेशिक व्यापारमा उल्यख्य वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो देखिन्छ। विभागका अनुसार गत आवको पहिलो १० महिनाका तुलनामा मुलुकमा आयात २७ दशमलव ९५ प्रतिशतले बढेको छ।
गत आवको वैशाख मसान्तसम्ममा १२ खर्ब ५४ अर्ब रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएकामा चालू आवको समीक्षा अवधिसम्म आयात १६ खर्ब चार अर्ब पुगेको छ।
त्यस्तै २०७७/७८ को पहिलो दश महिनाका तुलनामा चालु आवको निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ। गत आवको वैशाख मसान्तसम्म एक खर्ब आठ अर्ब ४७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा एक खर्ब ७३ अर्ब रुपैयाँ बढी मूल्यका वस्तुको निर्यात भएको छ।
विभागका अनुसार गत आवको पहिलो दश महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव ०४ प्रतिशत रहेकामा यस्तो हिस्सा एक दशमलव ९४ प्रतिशतले घटेर चालु आवमा ९० दशमलव २५ प्रतिशतमा आएको छ।
त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २२ दशमलव ४६ प्रतिशतले बढेको छ। गत आवको वैशाख मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेकामा चालू आवमा नौ दशमलव ७५ प्रतिशत पुगेको छ। चालू आवको दश महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै रहेको देखिन्छ।
यस आवको वैशाख मसान्तसम्म मुलुकमा एक खर्ब २३ अर्ब ७० करोड रुपैयाँ मूल्यभन्दा बढीको डिजेल भित्रिएको छ। त्यस्तै पेट्रोल ५४ अर्ब ८३ करोड तथा एलपी ग्यास ५२ अर्ब ५९ लाख रुपैयाँ बढीको भित्रिएको विभागले जनाएको छ।
पेट्रोलियम पदार्थपछि भटमासको तेल आयात भएको तथ्याङ्कले देखाउँछ। दश महिनाका अवधिमा ४९ अर्ब ४१ करोड रुपैयाँ मूल्यभन्दा बढीको भटमासको तेल आयात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।