उदयपुर– उदयपुर जिल्लाको कटारी नगरपालिका–८ टोड्केपानीको खरबारीमा बुधबार बेलुकी घाँस काटेर घर फर्कने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
कटारी इलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थनीय ६८ वर्षीय गङ्गामाया खत्री रहेकी छन् । घाँसको भारी बोकेर बाटो काट्न लाग्दा पोलबाट भुइँमा झरेको तारबाट विद्युत् प्रभाह भएकाले उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। उनको कम्बरदेखि मुनिको सम्पूर्ण भाग जलेको प्रहरीले बताएको छ।
कटारीस्थित विद्युत् प्राधिकरण शखा कार्यालयका प्रमुख सन्तोष कार्कीले पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भुइँमा झारेका कारण खत्रीको करेन्ट लागेर मृत्यु भएको बताए ।
उनको मृत्युपछि आफन्तले शव बुझ्न नमानेकाले उक्त शाखाले रु पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।