रोल्पा– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पुरानो घर फर्कन आग्रह गरेका छन्।
निर्वाचनमार्फत् श्रेष्ठता हासिल गरेर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक परिवर्तन संस्थागत गर्ने माओवादी नीतिलाई संशोधनवादी र गद्धारीको बाटो भन्दै अर्को पार्टी गठन गरेका विप्लव अन्ततः चुनावकै बाटोमा आएको उनले बताए।
पुनले आफूहरू विप्लवलाई पार्टीमा स्वागत गर्न तयार रहेको बताए। मुलधारको राजनीतिबाट अलग रहेर बाटो बिराएका विप्लव १० वर्षपछि सही बाटोमा फर्किएको उनको भनाइ थियो।
‘विप्लवजीले १० वर्षअघि बाटो बिराउनुभएको थियो। अहिले सही बाटोमा फर्कनुभएको छ’, गृहजिल्ला रोल्पाको सुनछहरी गाउँपालिको फगाममा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘गणतन्त्र, संघीयताको र सामाजिक न्यायसहितको मुलधारमा, मुल बाटोमा स्वागत छ।’
आफूहरु गणतन्त्रसहितका परिवर्तन संस्थागत गर्न लागिपरेका बेला प्रतिक्रान्तिकारीको आरोप लगाउँदै विप्लवले पार्टी छाडेको स्मरण गर्दै पुनले उनको ‘एकीकृत क्रान्ति’को लाइन बिसर्जित भएको टिप्प्णी गरे। गलत बाटो हिँडेकैले विप्लव समूहमा फुट आएको पुनको तर्क छ।
‘कतै एमाले, कतै कांग्रेस, कतै अरु दलको चिह्न बोकेर हिँड्नुभएको छ’, उनले भने, ‘अरुका पछाडि लाग्नुभन्दा प्रचण्ड नेतृत्वको मुलधारमा आउनुहोस्, यसमा नलजाए हुन्छ।’
पार्टीमा फर्किए विप्लवसहित सो समूहका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफूहरु तयार रहेको पुनले बताए।
रोल्पाका अधिकांश पालिकामा विप्लव समूहले कांग्रेस, एमाले र राप्रपासँग चुनावी तालमेल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।