धनगढी–प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निकालिएका नेता कर्णबहादुर मल्लले एमाले अध्यक्ष केपी शर्मा ओलीको चाकडी गरेको आरोप लगाएका छन्। सोमबार गृह जिल्लास्थित गन्यापधुरा गाउँपालिकाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
‘यहाँ आउलान्, अनेक कुराहरु लगाउँलान्। तर, विश्वास गर्ने कुराहरु छैन,’ देउवाले मल्ललाई इंगित गर्दै भने, ‘कताबाट सञ्चालित हुन् थाहा छैन। तर, अहिले केहीले पार्टी छोडेका छन्। यो विषयमा म धेरै भन्न चाहन्नँ। मलाइ यो विषयमा कुरा गर्न पनि लाज लागिसक्यो।’

कर्ण मल्लले डडेल्धुरामा एमालेसँग तालमेल गरेर एमाले ओलीको चाकडी गर्न थालेको उनको भनाइ छ। उनले भने, ‘भोलिका दिनमा अगाडि बढाउँला। मपछिको नेता बनाउँला भन्या त ओलीको चाकरी गर्न थाल्यो।’
डडेल्धुरा काँग्रेसका पूर्व पार्टी सभापति कर्णबहादुर मल्लसमूह विद्रोह गरेर काँग्रेस बीपीमा मिसिएको छ। आफूहरुमाथि बारम्बार अन्याय भएको भन्दै उक्त समूहले बीपीको चुनाव चिह्न करुवाबाट स्थानीय चुनाव लडिरहेको छ। त्यसैका लागि उसले जिल्लामा एमालेसँग तालमेल गरेको छ। उक्त समूहले काँग्रेसलाई क्षति गर्नसक्ने भन्दै देउवा गृह जिल्ला पुगेका हुन्। केहीदिन अघि उनकी पत्नी आरजु राणा देउवासमेत गृह जिल्ला डडेल्धुरा पुगेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।