काठमाडौं-एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले देशभर ६० प्रतिशतभन्दा बढी पालिकामा जित हासिल गर्ने दाबी गरेका छन्।
काठमाडौंको टोखामा साेमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले देशभरको लहर हेर्दा ६० प्रतिशतभन्दा बढी स्थानमा जित्ने बताएका हुन्। अहिले देशभर एमालेको लहर चलेको बताउँदै उनले एमालेलाई विजयी गराउन सबैमा अनुरोध पनि गरे। स्थानीय निकाय निर्वाचनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्हालिरहेका पोखरेलले एमालेलाई हराउन परमादेशी गठबन्धन लागे पनि एमाले भने आफू जित्न लागेकाले देशैभर लहर छाएको बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेसमा प्रवेश गर्न सुझाव दिए। 'माओवादी केन्द्रले आफ्नो घोषणा पत्रसमेत जारी गर्न आवश्यक ठानेन, माओवादीले काँग्रेसले जारी गरेको घोषणा पत्र नै आफ्नो ठानेको छ,' उनले भने।
पाँचदलीय गठबन्धन राजनीतिक स्थायीत्व, राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताविरुद्ध रहेको पोखरेलको आराेप छ। आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने प्रधानमन्त्री पत्नी आरजु देउवाको अभिव्यक्तिप्रति बिमति जनाउँदै पोखरेलले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताए। 'सरकारी बजेट तिनको घरको सम्पत्ति होइन, विकास निमार्णका लागि बजेट पाउने सबैको अधिकार छ'- उनले भने ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले टोखा नगरपालिकामा एमालेले ५ वर्षमा राम्रो काम गरेको उल्लेख गर्दै अत्याधिक मत दिएर एमालेका सबै उम्मेदवार जिताउन आग्रह पनि गरे।
चुनावी सभामा टोखा नगरपालिकाका एमाले मेयर पदका उम्मेदवार प्रकाश अधिकारी, उपमेयरकी उम्मेदवार ज्ञानमाया डंगोलले आफूहरुले अघि सारेका विकास निर्माण, सामाजिक विकास तथा समृद्ध टोखा निर्माण अभियानलाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै अत्याधिक मतका साथ विजयी गराउने टोखा नगरबासीलाई अनुरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।