काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र अब केन्द्र नभइ रित्तो भइसकेको टिप्पणी गरेका छन्।
उनले २०६४ मा १२० सिट ल्याएको माओवादी अहिले भरतपुरमा छोरी जिताउन नेपाली कांग्रेसको फेरो समात्ने अवस्थामा आइपुगेको दाबी गरे।
सोमबार ललितपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। ‘ताउला लाग्ने मानिसले भान्सा बनाइरहन पर्छ र? पर्दैन,’ उनले भने, ‘अहिले हेर्नुस् माओवादीले घोषणापत्र नै ल्याएन किनभने एमालेतिर आए एमालेको घोषणापत्र र कांग्रेसतिर गए कांग्रेसको घोषणा पत्र छँदैछ।’
उनले माओवादीका आधा कार्यकर्ता सबै एमालेमा आइसकेको भन्दै अझै केही दिनमा पार्टी नै रित्तिने दाबी गरे।
उनले नेपाली कांग्रेसको घोषणापत्रमा पनि केही नभएको भन्दै अलिअलि एमालेकै सारेको टिप्पणी गरे। ‘आफ्नो पार्टी सभापतिको नाम ८ ठाउँमा र मेरो नाम ४२ ठाउँमा राखेर घोषणापत्र बनाएको छ,’ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।