प्युठान नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उपमेयर उम्मेदवार देवेन्द्र वर्मा पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका हुन्। उनले हिमालयन टाइम्स, अन्नपूर्ण पोष्ट, एपी वान, नेपाल वानलगायत सञ्चारमाध्यममा काम गरे। झन्डै २० वर्ष पत्रकारिता गरेपछि उनी राजनीतितिर लागे। विगत चार वर्षदेखि पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका छन्। उनी कांग्रेस प्युठानको जिल्ला उपसभापति पनि हुन्। उनको उम्मेदवारीबारे नेपाल लाइभले गरेको कुराकानीको अंश–
तपाईं पत्रकारिता छाडेर किन राजनितिमा आउनुभयो?
मेरो परिवार नेपाली कांग्रेससँग पहिलेदेखि नै आस्थावान हो। बुवा प्युठानमा नेपाली कांग्रेसको सँस्थापक हुनुहुन्छ। म १२ वर्षको उमेरमा नै २०४६ सालको आन्दोलनमा लागेको थिएँ। पत्रकारिता २०५६ सालदेखी सुरु गरेको हो। पत्रकारिताबाट समाजका केही विषय त परिवर्तन गर्न सकिन्छ, तर राजनीतिबाट समाजलाई सही ठाउँमा ल्याउन सकिन्छ भन्ने लाग्यो। अनि पत्रकारिता छाडेर राजनीतिमा आएँ। मलाई पत्रकारिताले नै राजनीतिमा लाग्न प्रेरित गरेको हो। हिजो प्रश्न गर्ने ठाउँमा थिए, अब उत्तर दिने ठाउँमा पुग्न चाहन्छु। त्यसैले गठबन्धनबाट उपमेयरको उम्मेदवार स्वीकार गरेँ।


तपाईंका अजेण्डा के–के हुन्?
पहिलो पाँच वर्षको स्थानीय सरकारले गरेको कामहरू नजिकबाट नियालेको छु। ती काम एक व्यक्तिको सोच र सीमित व्यक्तिका प्राथमिकतामा परेर गरेको देखेको छु। त्यसैले मैले मुख्य अजेण्डा बनाउँदा यस्तो विभेद हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छु। समान शिक्षा, पर्यटन, रोजगारी, खानेपानी, यातायात, सञ्चार, स्वास्थ बीमा, प्रत्येक युवाको हातमा सीप र नगरपालिकाका सबै १० वटा वडामा कालोपत्रे सडक बनाउने संकल्प गरेको छु। प्युठानको मध्यविन्दुमा यो नगर भएकाले सडक विस्तारलाई प्रमुख रूपमा अगाडि बढाइनेछ। युवा उद्यमशीलतालाई केन्द्रमा राखिनेछ। यहाँका स्थानीय उत्पादनलाई बुटवल, दाङ र नेपालगञ्जसम्म लैजाने अवस्था सिर्जना गरिनेछ।
भौगोलिक विकटताका कारण केही वडामा ६ महिना मात्र गाडी चल्छन्। अब १२ महिना नै गाडी चल्न सक्ने गरी सडकको स्तरोन्नती गरिनेछ। हाम्रो गठबन्धनले जित्यो भने विज्ञ राखेर १५ वर्षीय गुरुयोजना निर्माण गरिनेछ। म यही गुरुयोजनालाई आत्मसाथ गर्दै अघि बढ्ने छु।
तपाईंका प्रतिस्पर्धीलाई कसरी लिनु भएको छ?
मैले प्रतिस्पर्धीलाई कमजोर ठानेको छैन। मेरो प्रतिस्पर्धी भनेको विपक्षी पार्टीको नेता मात्र नभएर मतदाता पनि हुन्। डराएर हिँड्नुपर्ने अवस्था छैन। हामी गठबन्धनमा छौँ, आआफ्ना अजेण्डा जनतालाई बुझाउने हो। कसले कति गर्छ भन्ने जनताले बुझिसकेका छन्। त्यसको परिणाम ३० गतेपछि थाहा हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।