काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभई शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि पनि रहेको बताएका छन्। कसैलाई जिताउन वा हराउनका लागि नभई गठबन्धन संविधानको रक्षाका लागि बनाएको उनले बताए।
उपसभापति खड्काले सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित पीपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनाइएको दाबी गरे। ‘गिरिजाबाबु र प्रचण्डले सुरु गरेको जुन शान्ति प्रक्रिया छ त्यसलाई पूर्णता दिनु आवश्यक छ,’ खड्काले भने, ‘त्यसैले यो गठबन्धन स्थानीय चुनाव जित्न मात्र होइन शान्ति र विकासका लागि आवश्यक छ।’
गठबन्धन बाहेकका दललाई भोट हाले पार्टीले कारबाही गर्ने उपसभापति खड्काले बताए। ‘आफ्ना प्रतिस्पर्धाका कुरा काटेर होइन आफ्ना प्रतिबद्धता राखेर मत माग्नुहोस्,’ गठबन्धनका नेतालाई उनले भने, ‘आफ्ना कार्यक्रम र प्रतिबद्धता राखेर भोट मागौं, इमानको राजनीति गर्नुपर्छ, कुरा काटेर होइन।’
विकासका कामलाई निरन्तरता दिनको लागि गठबन्धनलाई विजयी गराउन उनले वीरेन्द्रनगरका मतदातालाई आग्रह गरे।
वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ। यो पालिकामा कांग्रेसले प्रमुखमा उपेन्द्र खड्कालाई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले शान्ति ढकाललाई उम्मेदवार बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।