काठमाडौं– स्थानीय तहको निर्वाचन आउन चार दिनमात्रै बाँकी रहेका बेला काठमाडौं महानगरपालिका–२४ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन्।
उनीसहित माओवादी परित्याग गरेर २४ जना नेकपा एमालेमा प्रवेश गरेका हुन्। उनीहरुलाई नेकपा एमाले काठमाडौंका सचिव राजेश शाक्यले टिका लगाएर पार्टीमा स्वागत गरेका छन्। यसअघि वडा नम्बर १३ र १५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका थिए।
पार्टी प्रवेशपछि सम्बोधन गर्दै श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा आफ्नो सन्तानलाई जिताउनेबाहेक अन्य कार्यकर्ताको संरक्षणमा अलिकति पनि ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
नेकपा माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा मात्रै होइन उम्मेदवार चयनपछि जिताउने अभियानमा पनि नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएकाले सो पार्टीमा बसिरहनुको औचित्य नरहेकाले परित्याग गरेको बताए।
पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै एमाले जिल्ला कमिटी सचिव शाक्यले पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।