काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी विप्लवबाट फुटेको नेकपा (बहुमत)ले मौजुदा संसदीय व्यवस्था रहुन्जेल राजनीतिक स्थिरता नहुने बताएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै नेकपा (बहुमत)का नेता धर्मेन्द्र बाँस्तोलाले उक्त कुरा बताएका हुन्।
वर्तमान व्यवस्थाको चरित्रबारे उनले भने, ‘संसदीय व्यवस्थाको अन्तर्निहित चरित्र भनेको अस्थिरता हो। किन अस्थिरता हुन्छ भने प्रधानमन्त्री निर्वाचित हुँदैन, मानोनयन हुन्छ।’
त्यस्तै, उनले व्यवस्थापिकाले व्यवस्थापिकाको काम नगरेको बताए। ‘केही मुख्य मान्छे प्रधानमन्त्री, मन्त्री बन्ने हुन्छ। व्यवस्थापिकाको सानो झुन्डले न्यायपालिकाको भविष्य निर्धारण गर्छ। जहाँ पैसाले खरिदबिक्री गरिन्छ,’ उनले भने।
आफूहरूले प्रस्ताव गरेको कार्यक्रमले यो सबै विषय समाधान गर्ने दाबी बाँस्तोलाकाे छ। उनले भने, ‘हाम्रो कार्यक्रमभित्र निर्वाचित कार्यपालिका, निर्वाचित व्यवस्थापिका र निर्वाचित न्यायपलिका रहनेछ, जसले राजनीतिक स्थिरता कायम गर्छ।’
केही दिन अघिमात्र विप्लव नेतृत्वको नेकपाबाट छुट्टिएर हेमन्त प्रकाश ओलीको नेतृत्वमा नेकपा (बहुमत) गठन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।