काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमालेले नारा बनाउन सिपालु भएको, तर आफूहरुले नसकेका कारण गरेको कामको पनि जस लिन नसकेको बताएका छन्। वृद्धभत्तादेखि पूर्वाधारसम्मको विकास निर्माण गर्न काग्रेस गरेको दाबी गरे।
‘उहाँ (एमाले)हरु नारा चयन गर्न सिपालु, तर हामी बनाउन नजान्ने,’ महतले भने, ‘वृद्धभत्ता पनि हामीले हजारमा पुर्याएको हो, तर हामीले प्रचार गर्न जानेनौं।’
नेपाली कांग्रेसले ६५ वर्ष उमेरदेखि नै वृद्धभत्ता दिने प्रतिबद्धता गरेकाले अब लागू गर्ने महतको भनाइ छ। औषत आयु ७१ वर्ष पुगेकाले अव वृद्धभत्ताको सीमा घटाउनुपर्ने पक्षमा कांग्रेस रहेको उनले दाबी गरे।
‘पानी जहाज ल्याउने कुरा गर्नुहुन्थो। काठमाडौमा ठुलो पोष्टर टाँसेको हैन? उत्तरबाट रेल ल्याउने भनेको हैन। खै त भर्खर सर्वेक्षण मात्र भएको छ,’ महतले भने।
एमालेले झुटो कुरा मात्र गर्ने गरेको भन्दै उनले कल्पनामा सगरमाथा पुग्न सकिने, तर कार्यान्वयन गर्न गाह्रो रहेको दाबी गरे। उनले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध कसैले पनि विश्वास गर्न नसक्ने अवस्थामा पुर्याएको आरोप उनले लगाए।
एमाले अध्यक्ष केपी शर्मा ओली सरकार कायमै रहेको भए अहिले देशको अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने पनि दाबी गरे।
ओली सरकारले ऋणमात्र लिन लागेको, तर अहिले नेपाली कांग्रेसले अनुदान लिएर विकासमा लगानी गर्न थालेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।