काठमाडौं- नेकपा एमालेको तर्फबाट दैलेखको आठबिस नगरपालिकामा मेयर पदका उम्मेदवारले चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको छ।
मेयरका उम्मेदवार तर्कबहादुर बडुवालले प्रयोग गर्दै आएको बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको बताइएको छ।
‘पार्किङ गरेर राखिएको अवस्थामा गाडीको दायाँतर्फको पछाडीको चक्काभन्दा माथिको भागमा जलेको छ,’ दैलेखका प्रहरी प्रमुख, डीएसपी भुवनेश्वरप्रसाद साहले भने, ‘कसैले आगो लगाएको हो वा अन्य के कति कारणले जल्यो भन्ने बारेमा अनुसन्धान गर्दैछौं।’
आठबिस नगरपालिका वडा नम्बर ४ राकम कर्णालीस्थित सृष्टी होटल अगाडि मेयर पदका उम्मेदवार बडुवालले प्रयोग गर्ने उक्त गाडी पार्किङमा राखिएको थियो।
आगजनीबाट गाडीको एउटा टायरको बाहिरी भाग जलेको छ। चालक भने गाडीमै सुतेका थिए। उनले पनि घटना कसरी भयो भन्नेबारे कुनै जानकारी नभएको बताएका छन्।
चालकले चक्कामाथिको भागमा आगो लागेको देखेपछि गाडी चलाएर नजिकैको खोलामा पुर्याएका थिए। त्यसकारण गाडीमा थप क्षति हुनबाट जोगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।