फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेले आज आइतबार चितवनको भरतपुर र रुपन्देहीको बुटवलमा चुनावी सभा गर्दैछ। सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोभन गर्नेछन्।
चितवन नारायणढको क्याम्पाचौरमा दिउँसो १२ बजे हुने सभालाई एमाले उपाध्यक्ष रामबहादुर थापा 'बादल', सुरेन्द्र पाण्डे लगायतका नेता र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले पनि सम्बोधन गर्नेछन्।
भतरपुरमा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन्। एमालेको तर्फबाट भरतपुरको मेयरमा विजय सुवेदीको उम्मेदवारी छ। उपमेयरमा राप्रपाका हिमला गुरुङ उम्मेदवार छन्।
सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की रेणु दाहाल मेयरको उम्मेदवार छन्। उपमेयरका कांग्रेसका चित्रसेन अधिकारी छन्।
यस्तै, नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। जसका कारण भरतपुरलाई महत्त्वकासाथ हेरिएको छ। केहीदिन पहिले मात्र भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभा गरेको थियो।
यस्तै, रुपन्देहीको बुटवल-११ देवीनगरस्थित वाणिज्य क्याम्पस छेउको मैदानमा हुने चुनावी सभालाई अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतका नेताले सम्बोधन गर्न एमालेले जनाएको छ। चुनावी सभामा सहभागी हुन ओली हेलिकोप्टरमार्फत बुटवल पुग्नेछन्। बुटवलपछि उनी चितवन पुग्नेछन्।
चुनावी सभालाई सम्बोध गर्न जानुअघि ओलीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दैछन्। समसायिक राजनीति र स्थानीय निर्वाचनको विषयमा एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो।
पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले समसायिक राजनीति र स्थानीय निर्वाचनको सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।