काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको तत्कालीन सरकारले सुरु गरेको वृद्धभत्ता कार्यक्रमले मान्छेहरुमा बाँच्ने मनोबल बढाएको दाबी गरेका छन्। चुनावी सभालाई सम्बोधन गर्न इटहरी पुगेका उनले आफ्नो दाबीका लागि २०५१ सालको एक सन्दर्भ प्रयोग गरेका छन्।
'२०५१ सालमा एमालेको सरकार बन्नुभन्दा अगाडि एक जना पाकोपाको हुन लागेको मान्छेलाई भेटेको थिएँ। उहाँ त्यतिबेला ७२ वर्ष जतिको हुनुहुन्थ्यो। मैले सोधेँ- 'कति वर्षको हुनुभयो तपाईं?' उहाँले भन्नुभयो- 'बुढो भइयो बाबु, ७२ पुगियो, कति बाँचिएला र!' मैले 'चिन्ता नगर्नुस्, बाँचिन्छ' भनेँ', ओलीले प्रसंगको सुरु गर्दै भने।
त्यही बीचमा एमालेको सरकार बनेको र वृद्धभत्ता कार्यक्रम सुरु गरेको र अर्को वर्ष उनैसँग भेट भएको ओलीको भनाइ छ। उनले भने- अर्को वर्ष उहाँसँग मेरो भेट भयो। मैले उहाँलाई फेरि सोधेँ- 'अहिले ७४ पुग्नुभयो होइन?' उहाँले भन्नुभयो- '७४ पुगेँ बाबु, अर्को वर्ष ७५ पुग्छु, वृद्धभत्ता खाइन्छ।'
७२ वर्षको भएको बेला भेटेको मान्छेले 'बुढो भइसकियो अब कति बाँचिएला' भनेता पनि वृद्धभत्ता सुरु भएपछि ७४ को हुँदा पनि ७५ पुगेर वृद्धभत्ता खान्छु भनेको ओलीको भनाइ छ।
'मर्ने कुरै छैन। मरिएला भन्ने त कुरै छैन। जेष्ठ नागरिक भत्तातिर ध्यान गयो। अब मानिसको बाँच्ने इच्छा, बाँच्ने मनोबलसमेत एमालेले जगाएको छ। अब त वृद्धभत्ता नसटाइकन, वृद्धभत्ताको प्रयोग नगरिकन कोही पनि मर्ला भन्ने चिताउँदै चिताउँदैनन्। कमसे कम ७५, ८०, ८५, ९०, ९५, १०० वर्ष त मामुली कुरा हो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।